२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

‘अब भारतसँग आँखा जुधाएर कुरा गर्ने बेला भएन सरकार?’

२६ साउन, काठमाडाैँ । राष्ट्रियसभा सदस्य विमला घिमिरेले केपी ओली सरकारले ल्याएको खोप पनि शेरबहादुर देउवा नेतृत्वको सरकारले नागरिकलाई व्यवस्थित रुपमा लगाइदिन नसकेको आरोप लगाएकी छन्।

घिमिरेले मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा विशेष समय लिएर बोल्दै सरकारले व्यवस्थित रुपमा खोप अभियान चलाउन नसक्दा मानिसहरुको भीड बढेको बताइन्।

उनले शिक्षक र विद्यार्थीहरुलाई तत्काल खोप लगाई परीक्षा सञ्चालन गर्न पनि आग्रह गरेकी छन्। घिमिरेले दार्चुलामा भारतीय सिमा सुरक्षा बलले तुइन काटेर नेपालीलाई महाकाली नदीमा बगाएको घटनाबारे सरकरले शिर ठाडो पारेर बोल्न नसकेको पनि आरोप लगाइन्।

‘दार्चुलामा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिएर नेपाली युवा महाकालीमा बगेको घटना सरकारले भारतसँग कुरा नगरेर हाम्रो शिर निहुरिएको छ’, उनले भनिन्, ‘अब आँखा जुधाएर कुरा गर्ने बेला भएन सरकार ?’

उनले हिजो भारतले नाकाबन्दी गर्दा टुलुटुलु हेरेर बस्ने सरकार अहिले नेपाली नागरिकमाथि अन्याय हुँदा पनि रमिते बनेको बताइन्।

‘हिजो नाकाबन्दी हुँदा होइन भनेर चुप लागेर बस्नेहरु, लिम्पियाधुरा र कालापानी मिच्दा नबोल्नेहरुको सरकार छ अहिले’, उनले भनिन्, ‘तर नेपालीमाथि अपमान भइरहँदा पनि यो सरकार मौन छ, के यही हो त परमादेश सरकारको काम?’

उनले केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भूमि व्यवस्था आयोगको कामलाई माटोमा मिलाउने काम देउवा नेतृत्वको सरकारले गर्न लागेको बताइन्। उनले फेरि नयाँ नियुक्ति गरेर काम अघि बढाउँदा निर्वाचन अगाडि भूमिहीनले जग्गाधनी पुर्जा नपाउने बताइन् ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलवार १४:१३