५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

विमान दुर्घटनामा परी मृत्यु भएका नेपालीले पनि विदेशीसरह राहत पाउने

३२ असार, चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले पर्यटन विश्वविद्यालयको कानुन तर्जुमाको काम अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।

यहाँ आज पत्रकारसँग कुरा गर्दै मन्त्री अधिकारीले भन्नुभयो, “पर्यटन विश्वविद्यालय स्थापनाका लागि कानुन अन्तिम चरणमा छ, एक महिनाभित्र मन्त्रिपरिषद्बाट पास हुन्छ ।” पर्यटन क्षेत्रमा अहिले एक लाख जनाले रोजगारी पाए पनि दक्ष छ्रैनन् भन्दै उहाँले दक्ष जनशक्ति उत्पादनका लागि पर्यटन विश्वविद्यालय खोल्ने तयारी भएको बताउनुभयो । सरकारले सन् २०२० लाई २० लाख पर्यटक नेपाल ल्याउने लक्ष्यका भ्रमण वर्षका रुपमा मनाउने तयारी गरेको र सोहीअनुसार भौतिक संरचना निर्माण र पर्यटकीय क्षेत्रलाई जोड्ने काम तीव्र बनाइएको बताउनुभयो ।

सबै प्रदेशका पर्यटकीय क्षेत्रसँग जोडी एक सयभन्दा बढी ठाउँमा पर्यटन विकास गर्ने योजनाका साथ केन्द्रीय सरकार लागेको बताउँदैै उहाँले यसलाई अझै प्रभावकारी रुपमा अघि बढाउन सौराहामा दृश्यावलोकन स्तम्भ निर्माण तथा निकुञ्ज र आसपासका पर्यटकीय क्षेत्रलाई लुम्बिनी र काठमाडौंसँग जोड्ने काम भइरहेको जानकारी दिनुभयो ।

मन्त्री अधिकारीले आजको मन्त्रिपरिषद् बैठकले विमान दुर्घटनामा परी मृत्यु भएका नेपालीले पनि विदेशीसरह राहत पाउने व्यवस्था (मन्ट्रलियर कन्भिन्सन) पारित गरेको जानकारी दिनुभयो । यसअघि विदेशीको मृत्यु हुँदा एक लाख डलर र नेपालीको मृत्यु हुँदा २० हजार डलर पाउने व्यवस्था थियो । फरक प्रसंगमा मन्त्री अधिकारीले अनशनरत प्रा डा गोविन्द केसीका जायज माग पूरा गर्न सरकार तयार रहेको र ती माग लोकतान्त्रिक विधिको बाटाबाट अघि बढाउनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : ३२ असार २०७५, सोमबार १९:४९