२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

तुइन प्रकरणः एसएसबीकै निगरानीमा छानविन समिति घटनास्थलमा ! स्थानीयद्धारा बिरोध प्रदर्शन

२२ साउन, दार्चला । दार्चुलाको तुइन प्रकरणमा नेपालतिरबाट छानबिन समिति नआएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी कार्यकर्ता र स्थानीयवासीले तुइन भएकै क्षेत्रमा पुगेर नाराबाजी गरेका थिए । उनीहरुले राष्ट्रिय झण्डा र चन्द नेतृत्वको झण्डा देखाउँदै नेपालबाट आएर पनि अनुसन्धान गर्न माग गरेका थिए ।

“एसएसबीले नै घटना घटाउने अनि उनीहरुसँगै गएर अनुसन्धान गर्नुको औचित्य छैन”, चन्द नेतृत्वको नेकपा माओवादीका जिल्ला सचिव सुवास मल्लले भने, “आफ्नो भूमिमा पाइला नटेकेर भारतीय एसएसबीकै इसारामा प्रतिवेदन बनाउन यो नाटक गरिएको हो । यसको हामीले भन्दा पनि जनताले नै विरोध गरेका हुन् ।”

आफ्नो तर्फबाट बाटो बनाउन नसक्ने सरकारले छानबिन गर्न पठाएको समिति पनि भारतीय एसएसबीको निगरानीमा पठाएपछि कस्तो प्रतिवेदन आउला ?, आफैँ अनुमान लगाउनुस्”, उनले भने । जयसिंह धामीको घटनाका प्रत्यक्षदर्शी कल्यानसिंह धामी, विक्रम रङ्कोली र अनिता धामीलाई प्रहरीले बिहीबार नेपालकै बाटो भएर गाउँ पु¥याएको छ । यही साउन १८ गते सोधपुछका लागि प्रहरीको निगरानीमा खलङ्गा पु¥याइएका तीनै जनालाई सोधपुछपछि गाउँ पु¥याइएको हो ।

खलङ्गामा रहँदा उनीहरुसँग भेट्न पत्रकार मानवअधिकारकर्मीलाई रोक लगाइएको थियो । बुधबार सोधपुछ सकिएपछि राति अबेर आफन्तको जिम्मा लगाई तीनै जनालाई बिहीबार बिहान ५ बजे खलङ्गाबाट हिँडाइएको हो । बाटोमा गाउँका स्थानीयवासी गए पनि उनीहरुसँग सम्पर्क गर्न दिइएको थिएनन् । प्रत्यक्षदर्शी र गाउँका स्थानीयवासीलाई अलगअलग हिँड्न लगाइएको थियो । प्रत्यक्षदर्शीबाट लिइएको बयानमा दस्तखत गर्न प्रहरी तिमुरपाटा पुगेको थियो ।

बुधबार दिनभरि जिल्ला प्रशासन कार्यालय र महाकाली नगरपालिकाभित्र उनीहरुको बयान लिइएको थियो तर दस्तखत गर्न छुटेको भन्दै प्रहरीले उनीहरुलाई तिमुरपाटामा रोकाएर दस्तखत गराएको थियो । प्रत्यक्षदर्शीसँग दुईजना प्रहरी पठाइएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार ०९:५२