२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

केपी र माधवको वार्तामा प्रचण्डको हस्तक्षेपले एमाले एक हुन सकेनः नेता पण्डित

२१ साउन, काठमाडाैँ । पुर्व मन्त्री एवं नेकपा एमालेका नेता लालबाबु पण्डितले माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको मिलेमतोमा एमाले सिध्याउने रणनीति भएको दाबी गरेका छन । अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता र सहमतिका लागि अधिकतम प्रयास गरेपनि माधव नेपाल लचिलो नहुनुले त्यही संकेत गरेको उनको भनाइ छ ।

एक टेलिभिजन कुराकानीमा पण्डितले भने, ‘पार्टी एकताका लागि अध्यक्ष ओलीले अधिकतम लचकता र गम्भिर भएको देखिन्छ तर माधव नेपालमा त्यो देखिएन, उहाँ मनलाग्दी गरिरहनुभएको छ। असन्तुष्टिको नाममा स्वार्थ केन्द्रित भएर माधव नेपालले लडाई लडिरहनुभएको छ । माधव नेपाल र प्रचण्ड नाम मात्र फरक तर मान्छे एउटै हुनुहुन्छ।’

उनले भने, ‘माओवादी अध्यक्ष प्रचण्ड र माधवले शेरबहादुर देउवालाई भगवान मानेका छन् । यता देउवा जनताको विश्वासले होइन, प्रचण्डको विश्वासले हैन, माधव नेपालको विश्वासले पनि हैन, ज्योतिषको विश्वासमा दौडिरहनु भएको छ । माधव नेपाल अहिले पनि शेरबहादुर देउवालाई प्रधानमन्त्रीबाट हटाउन पाईदैन भनेर एमालेमा प्रस्ताव ल्याइराख्नुभएको छ, त्यो गलत छ ।’

अध्यक्ष ओली र माधव नेपालको वार्तामा प्रचण्डको हस्तक्षेप हुने गरेकाले अहिलेसम्म सहमति बन्न नसकेको उनले बताए । बहुमतको सरकारलाई हटाएर अल्पमतको सरकार बनाउदा आगामि दिनमा संसदमा शेरबहादुर देउवाले तोरीको फुल देख्छन उनले भने । अल्पमतको सरकार र बहुमतको प्रतिपक्ष भएपछि छिट्टै सरकारमा गतिविधि देख्न पाईने उनले बताए ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार ११:३९