२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

दार्चुला घटनाका दोषीलाई कारबाही नगरे सडक संघर्ष गर्ने २२ दलको चेतावनी

१७ साउन, काठमाडाैँ । दार्चुला घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहितका २२ दलीय गठबन्धनले विज्ञप्ति जारी गरेकाे छ । आइतबार गठबन्धनले जारी गरेको संयुक्त वक्तव्यमा घटनाबारे अविलम्ब कूटनीतिक पहल गरी साे घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउने काम गर्न सरकारसँग माग गरिएको छ । विज्ञप्तिमा अन्यथा सडक सङ्घर्षमा उत्रनुबाहेक अर्को विकल्प नरहने उल्लेख गरिएको छ ।

विज्ञप्ति जारी गर्नेमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा (माले), नेकपा (माओवादी मोर्चा), नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जागरण परिषद्, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), नेपाल, नेकपा (बोल्शेविक), एम.सी.सी. खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी), मार्क्सवादी एकता अभियान , नेकपा (मार्क्सवादी) २१. नेकपा मार्क्सवादी (पुष्पलाल) र समाजवादी राष्ट्रिय मञ्च, नेपाल रहेका छन् ।

साउन १५ गते व्यास गाउँपालिका–२, मालघाटमा स्थानीय ३३ वर्षीय जयसिंह धामी भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाने क्रममा तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको डोरी काटिदिएपछि महाकाली नदीमा डुबेर बेपत्ता भएका थिए ।

यो तथ्यलाई प्रत्यक्षदर्शीहरुको भनाइले पुष्टि गरेको तर, भारतको पिथौरागढ जिल्ला अधिकारीले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएर यो घटनामा एसएसबीको संलग्नतालाई इन्कार गरेपछि घटना झन् पेचिलो र जटिल बन्दै गएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आईतवार १३:१८