२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

सचिव सरूवामा प्रचण्डको सेटिङ, ढुकुटी भ्वाङ पार्नेलाई अर्थसचिवको जिम्मेवारी

१७ साउन, काठमाडौँ । सरकारले राष्ट्रको ढुकुटी भ्वाङ पार्नेलाई अर्थसचिवको जिम्मेवारी दिएको छ । हाल महालेखा नियन्त्रक रहेका मधु मरासिनीलाई अर्थ मन्त्रालयमा सरूवा गरिएको छ । उनी ढुकुटी भ्वाङ पार्ने सहसचिवको रूपमा समेत चित्रित छन ।

प्रचण्डका सल्लाहकार रहिसकेका नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सदस्य श्रीराम पौडेलका ज्वाइँ मरासिनीलाई प्रचण्डकै अनुरोधमा अर्थ मन्त्रालयमा तानिएको हो । मरासिनी प्रचण्ड प्रधानमन्त्री हुँदा न्यूयोर्कमा महावाणिज्य दूतको कार्यालय खोल्न लगाएर अमेरिका पुगेका थिए । केपी शर्मा ओली नेतृत्वको एमालेको सरकारले भने दरबन्दी नै खारेज गरेर मरासिनीलाई नेपाल फर्काएको थियो ।

सरकारले लामो समयदेखि अर्थ मन्त्रालयमा कार्यरत रहेका सचिव शिशिर ढुंगनालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ । अर्थकै क्याडर भएर पनि स्वास्थ्यमा थन्काइएका सचिव लक्ष्मण अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगिएको छ ।

अर्याल भने अब कांग्रेसको सरकार आयो अब ढुक्कले अर्थ सचिव हुन्छु भन्नेमा थिए तर मन्त्रालयको नेतृत्वमा माओवादी नेता जनार्दन शर्मा रहेका कारण अर्यालको सपना पूरा हुन पाएन । उनी स्वास्थ्य मन्त्रालय जानु अघि पनि प्रधानमन्त्री कार्यालयमै रहेका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आईतवार १२:१७