२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

चीनले नेपाललाई अनुदानमा थप १६ लाख डोज खोप दिने

१५ साउन, काठमाडौँ । चीनले कोभिड-१९ विरुद्ध नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले नेपाललाई थप १६ लाख डोज खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएकी हुन् ।

चीनले यसअघि नेपाललाई १८ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो । मन्त्री शर्माले कोभिड विरुद्ध जनतालाई खोप लगाउनु सरकारको प्राथमिकताको काम भएको भन्दै चीनले १८ लाख डोज खोप अनुदानमा दिएकोमा आभार प्रकट गरेका छन् । उनले चीनबाट थप खोप खरिदको लागि प्रक्रिया अघि बढाएकोले त्यस कार्यमा राजदुतबाट सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरे ।

मन्त्री शर्माले चिनियाँ सहयोगमा नेपालमा संचालित विभिन्न आयोजनाहरुको कार्यान्वयनमा अनुगमन गरी देखिएका समस्या समाधान गर्न र कार्यसम्पन्न गर्न सरकारको तर्फबाट तदारुकता रहने प्रतिवद्धता व्यक्त गरे । उनले चिनियाँ लगानीमा अघि बढिरहेका सडक, जलविद्युत, विमानस्थललगायतका निर्माणाधिन परियोजनाहरु सम्पन्न गर्नको लागि नेपाल सरकारले गर्नुपर्ने कामहरुको सम्बन्धमा गंभीरतापूर्वक ध्यान दिने बताए ।

भेटमा चिनियाँ राजदूत यान्छीले नवनियुक्त अर्थमन्त्री शर्मालाई बधाई दिँदै जुनसुकै सरकार आएपनि नेपाललाई हेर्ने चिनियाँ नीति र दृष्टिकोणमा परिवर्तन नआउने बताइन् ।

भुकम्पपछिको पुननिर्माणमा पनि चीनले नेपालमा विभिन्न २५ वटा परियोजनाहरुको पुननिर्माणमा सहयोग गरेको र आधाजसो काम सकिएको उल्लेख गर्दै राजदूत यान्छीले दरबार हाइस्कुलको पुननिर्माण सकिएको, वसन्तपुरको नौ तले दरबारको काम सकिन लागेको र बाँकी रहेका अन्य परियोजनाहरुको काम पनि चाँडै सम्पन्न गरिने आश्वासन दिइन् ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार १४:०३