२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

अर्थमन्त्री शर्मा र कोरियाली राजदुतबीच शिष्टाचार भेट

१३ साउन, काठमाडौँ । नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क चोङ सुकले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेका छन् । बुधबार राजदुत पार्क र अर्थमन्त्री शर्माबीच अर्थमन्त्रालयमा शिष्टाचार भेट भएको हो ।

भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवालाई काम गर्ने वातावरण बनाइदिन राजदूत समक्ष आग्रह गरेको अर्थ मन्त्रालयद्वारा जारी बक्तव्यमा उल्लेख छ । कोभिड महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट हुनुपर्ने काम तत्काल अघि बढाउने शर्माले बताए । उनले कोरियाको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिन आग्रह गरे ।

जवाफमा राजदुत पार्कले रोकिएको इपिएसको काम अघि बढाउन आफूले पहल गर्ने बचन दिएका छन् । नेपालीहरुको मेहेनती र इमान्दारिताबाट कोरियाली रोजगारदाताहरु खुशी रहेको पार्कले बताए । अर्थमन्त्री शर्माले कोभिड–१९ विरुद्धको खोप पहिलो प्राथमिकता भएको भन्दै त्यसको लागि कोरियाली जनताको तर्फबाट आवश्यक सहयोग रहने विश्वास व्यक्त गरे ।

कोरियाको लगानीमा भक्तपुरको ठिमी, नुवाकोट, धनगढी र मुगुमा सुविधासम्पन्न अस्पताल निर्माण भएको छ भने महोत्तरीको बर्दिवासमा मोडेल पोलिटेक्निक कलेजको स्थापना हुँदै छ । भेटकाे क्रममा राजदुत पार्क चोङ सुकले माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको काममा भइरहेको ढिलाईबारे चासो राखेका छन् । कोरियाली लगानी रहेको उक्त आयोजनामा ढिलाई हुँदा लागत बढ्न जानेतर्फ चिन्ता रहेको राजदूत पार्कले बताए ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार १५:३०