श्रीमानको हत्याको प्रयास गर्ने श्रीमति प्रहरी खोरमा
१७ फागुन, पर्सा । वीरगञ्ज महानगरपालिका–१३ का उमेश चौरसियालाई उनकै श्रीमतीले हत्या गराउने षड्यन्त्र रचेको दोषारोपण प्रहरीले गरेको छ । बुधबार राति वीरगञ्जको रातोबंगला नजिकै चौरसियामाथि भएको गोली प्रहार उनकै श्रीमती प्रियंकाले नै गराएको जिकिर पर्साका प्रहरी उपरीक्षक डा गणेश रेग्मीले यहाँ आज आयोजित पत्रकार सम्मेलनमा गर्नुभयो ।
चौरसियामाथि गोली प्रहार गरेको अभियोगमा पक्राउ परेका प्रियंकासहित चार अभियुक्तलाई सार्वजनिक गर्दै उपरीक्षक रेग्मीले श्रीमतीले नै श्रीमान्को हत्या गराउने षड्यन्त्र गरेको आरोप लगाउनुभयो ।
प्रियंका र बारा, परवानीपुर गाउँपालिका–१ का विकेन्द्र गुप्ताबीच प्रेम सम्बन्ध रहेको र उमेशको हत्या गरेपछि गुप्तासँगै घरजम गर्ने उद्देश्यका साथ परवानीपुर–१ कै निवासी मनोज गुप्ता र वीरगञ्ज १२ मुर्ली निवासी मुन्ना साहलाई योजनामा सामेल गराइएको अनुसन्धानबाट खुलेको बताइएको छ ।
उहाँले उमेशको हत्याका लागि विकेन्द्रले मनोजलाई रु २५ हजार र ना ३४प१०४ नम्बरको आफ्नै मोटरसाइकलसमेत उपलब्ध गराएको बताउनुभयो । प्रियंका र विकेन्द्रले बनाएको योजनालाई मूर्तरुप दिन मुन्नाले चलाएको मोटरसाइकल पछाडि बसेका मनोजले उमेशमाथि गोली प्रहार गरेको बताइएको छ ।
उहाँले गए राति ९ः३० बजे गोली प्रहारको घटना भएपछि घटनास्थलमा रहेको सिसी टिभी क्यामराको मद्दतले सबै अभियुक्तलाई पक्राउ गर्न सफल भएको बताउनुभयो ।
प्रहरीले घटनामा प्रयुक्त नलकटुवा पेस्तोल, मोटरसाइकल र मोबाइलसमेत बरामद गरेको छ । गोली प्रहारबाट घाइते भएका उमेशलाई उपचारका लागि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गराइए पनि स्वास्थ्य स्थिति बिग्रिँदै गएपछि थप उपचारका लागि काठमाडाैँको नर्भिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : १७ फाल्गुन २०७४, बिहीबार १९:३५