१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

‘दिगो पर्यटन’का निम्ति सबैको सहयोग आवश्यक

–दुर्गा पुडासैनी
३१ असार, काठमाडौँ । पयर्टन क्षेत्रका विज्ञ र अगुवाहरुले व्यवसायभित्र अराजकता मौलाएको बताएका छन । नेपाल मगर पर्यटन समाजले शनिबार राजाधानीमा अयोजना गरेको ‘दिगो पर्यटन र यसका चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश पक्ताले पर्यटन व्यवसायमा विद्यामान अराजकता र अनियमितताको अन्त्य गर्दै अघि बढेमात्र पर्यटक आवागमनलाई बढाउन सकिने बताए ।

अन्तरक्रिया कार्यक्रमकी प्रमुख अतिथि महिला बालबालिक तथा समाजकल्याणमन्त्री थममाया थापामगरले व्यवसायका अन्तरिक कमजाेरी सुधार्न व्यवसायी तयार रहनुपर्ने भन्दै पर्यटनको विकासका निम्ति सरकारले कुनै कसर बाँकी नराख्ने बताइन । उनले पर्यटनको विकासमा सरकारले निजी क्षेत्रसँग मिलेरै काम गर्ने स्पष्ट पारिन ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सूर्य थापाले कमजोरी गर्नेलाई कारबाहीको दायरामा ल्याएर सुधार गर्नुपर्ने बताए । उनले भने ‘गल्ती नगर्नेहरु कारबाहीमा पर्ने र दुःख पाउने भन्ने हुन सक्दैन तर गल्ती गर्नेले छुट पाउनु हुन्न ।’

उनले पर्यटकसँग बुढानिलकण्ठ घुमाउने भनेर पैसा लिने र बाइसधाराको बुढानिलकण्ठ देखाएर फर्काउने गरेको समेत पाइएको भन्दै त्यस्ता व्यवसायीलाई कारबाही गर्नुको विकल्प नभएको बताए । नेता थापाले पर्यटन रणनीति अनुसार पर्यटन बढाउने उद्देश्य भए पनि व्यवसायीका तर्फबाट भएको व्यवहारमा भएका कमजोरीले त्यस्तो सफलता नमिलेको बताए । उनले पर्यटनका पुर्वाधार विकास गर्न आवश्यक रहेको बताउँदै पर्यटन व्यवसायीले व्यालेन्स सिट माइनसमा नदेखाई सरकारलाई कर तिर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा टानका अध्यक्ष नवराज दाहालले पर्यटन व्यसायमा अराजकता रहेको स्वीकार गरे । उनले व्यवसायीमा संयमताको जरुरी रहेकोमा जोड दिए । अध्यक्ष दाहालले नेपालमा आउने पर्यटकहरुलाई राम्रो हिसाबले हाम्रा सम्पदा समेत देखाउन नसकिएको बताए । उनले राज्यको कारण पनि पर्यटनमा अराजक बढेको भन्दै गल्ती नगर्ने एजेन्सीलाई पनि फेक रेस्क्युको कारबाहीको नाममा दुःख दिन अचम्म लागेको बताए । उनले दिगो पर्यटनका लागि सरकारले सेवा र सुविधा दिएमा टानले देशको पर्यटन विकासका लागि गर्नुपर्ने जस्तो सुकै सहयोग पनि गर्न तयार रहेको बताए ।

कार्यक्रममा नेपाल मगर पर्यटन समाजका प्रथम उपाध्याक्ष राजकुमार थापा मगरले नेपाल गाउँले भरिएको देश हुनाले गाउँ विकासको लागि पर्यटकीय गतिविधि गाउँ केन्द्रीत गर्न लागेको जानकारी दिए । उनले सबै खाले पर्यटनसँग सम्बन्धित संस्थाले उठाएका माग र दिएका सुझाव कार्यान्वयन हुनुपर्ने भन्दै दिगो पर्यटनको विकासका लागि सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा अन्य सहभागीले नेपालको पर्यटन व्यवसायमा पर्यटन व्यवसायीकै अराजकता बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे । केहीले पर्यटन प्रद्र्धनका नाममा खानपिनमा रमाउने खालकामात्रै व्यवसायी रहेको आरोप लगाए । उनीहरुले व्यवसायलाई अनुशाशित र मर्यादित बनाउनका लागि व्यवसायी आफैँ जिम्मेवार बन्न नसकेको बताए ।

कार्यक्रममा टानका प्रथम उपाध्यक्ष एवम् नेपाल मगर पर्यटन समाजका महासचिव जीवन थापा मगरले सरकारले नयाँ कानुनहरु बनाउने चरणमा रहेकाले अब बन्ने कानुन पर्यटनमैत्री हुनुपर्ने बताए । उनले पर्यटनको विकास र विस्तारका लागि वान डोर पोलिसी आवश्यक भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । व्यवसायभित्रका कमजोरी सुधार गर्न व्यवसायीको समेत भूमिका महत्वपूर्ण रहने भएकाले सबैले आफ्नो ठाउँबाट दिगो पर्यटनका लागि सोच्ने हो भने सरकारले लिएको ५० लाख पर्यटक भित्राउने लक्ष्यप्राप्त गर्न त्यती कठिन नहुने बताए ।   

प्रकाशित मिति : ३१ असार २०७५, आईतवार १०:४०