गुरू
-त्रिलोचन ढकाल
चन्द्रप्रसाद झसक्क झस्के । डराउन दिनेहरूबाट तर्सेर भने होइन । उनले सम्झनामा नभएको कुरा अचानक सम्झेका थिए । उनलाई त्यही सम्झनाले झस्काएको थियो । विषय थियो गुरु पूर्णिमाको सम्झना । गुरुको सम्मान गर्ने चाहना भयो । उनी आफूलाई पढाएका मध्ये सबभन्दा मनपर्ने शिक्षक को घरमा गए_
“प्रणाम गरेँ गुरुजी !” उनले पैतालामा झम्टन खोजे ।
गुरुले पछि हट्दै भने_
“के गर्न खोजेको ? कोरोनाको यत्रो महामारी छ । तिम्रो हात र टाउकोले मेरो पैतालामा छुन हुन्न । मेरो पैतालामा हुनसक्छ कोरोना ।”
“के गर्ने त गुरुजी ?”
“यी यसरी दुई हात जोडने ।”
नमस्कारको मुद्रामा दुई हत्केला जोडेर देखाए गुरुजीले ।
चन्द्र प्रसादले “प्रणाम गुरुजी !” भन्दै दुई हात जोडे । टाउको निहुर्याए ।
“कता आउनुभएको हो ?”
आगन्तुकलाई प्रश्न गर्नु आफ्नो कर्तव्य ठान्ने गुरुले ।
“आज गुरु पूर्णिमा । गुरुको दर्शन गर्न आएको हुँ ।”
“शुभ आशिर्वाद छ । लौ बस्नुहोस् ।”
गुरुकोआग्रहअनुसार चन्द्रप्रसाद पिँडीमा बिच्छ्याइएको गुन्द्रीमाथि थचक्क बसे उनले मनमा लागेको कुरा भन्न थाले_ “विद्यार्थी अनुशासनहीन भए गुरुजी ! आफूलाई शिक्षा दिने शिक्षकलाई अस्ति कुटेको देखेँ । परार शाल नेपालीको सरलाई कालो मोसो लगाएर घुमाउँदै गरेको देखेँ । गाली गर्ने कुरा त सामान्य छ । जुनसुकै विद्यार्थीले जुनसुकै शिक्षकलाई गाली गर्छन् । शिक्षकको सम्मान कसैले गर्दैनन् गुरुजी ! के भएको हो गुरुजी यस्तो ।”
गुरुले भने_
“यो व्यापारको जमाना हो चन्द्र प्रसादजी । शिक्षक व्यापारी । विद्यार्थी ग्राहक । व्यापारी र ग्राहकका बिचको सम्बन्ध यस्तै यस्तै हुने गरेको देखिएको छ।”
प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार १५:५१