१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

 मुक्तिनाथको ऋणपत्र आजदेखि निष्काशन तथा बिक्री खुला

७ साउन, काठमाडाैँ । मुक्तिनाथ विकास बैंक लिमिटेडको ऋणपत्र आजदेखि निष्काशन तथा बिक्री खुला गरिएको छ । बैंकले वार्षिक ८.७५ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आज (साउन ७ गते) देखि निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकले ‘८.७५ प्रतिशत मुक्तिनाथ ऋणपत्र २०८४–८५’ निष्काशन तथा बिक्री खुला गरेको हो । सो ऋणपत्रको अवधि ७ वर्ष रहनेछ ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र बिक्री खुला गरेको हो । जसमध्ये ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सर्वसाधारणलाई र बाँकी ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ । सर्वसाधारणलाई बिक्री गरिने कुल शेयरमध्ये ५ प्रतिशत अर्थात २५ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । जसमध्ये १ हजार ५०० कित्ता बाँडफाँट गरिएको बैंकले जनाएको छ ।

ऋणपत्र खरिदका लागि छिटोमा साउन ११ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा साउन २१ गतेसम्म आवेदन दिनसक्नेछन् । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार १३:१०