२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

एउटै घरमा बसेर पुष्पलाल स्मृति दिवस मनाउँदै एमाले अध्यक्ष ओली र नेता नेपाल


७ साउन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरण गर्दै आज ४३ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । एमालेको अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल दुबै समूहको कार्यक्रम एकै भवनमा राखिएको छ ।

ललितपुरको तुलसीलाल स्मृति भवन च्यासलमा दुबै समूहले पुष्पलालको स्मृति दिवस मनाउने कार्यक्रम राखेका छन । एमालेका केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार अध्यक्ष ओलीको प्रमुख आतिथ्यतामा अाज १ बजेका लागि स्मृति दिवसको कार्यक्रम राखिएको जानकारी दिनुभएको छ ।

त्यस्तै माधवकुमार नेपाल निकटका नेता जगन्नाथ खतिवडा अध्यक्ष रहेको पुष्पलाल मित्रता केन्द्रले पनि तुलसीलाल स्मृति भवनमै पुष्पलाल सम्झने कार्यक्रम राखेको छ । खतिवडाको कार्यक्रम भने भोलिका लागि राखिएको छ । जहाँ नेता नेपाल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, मोहन वैद्य लगायतलाइ निम्त्याइएको छ ।

पुष्पलालले विसं २००६ वैशाख १० गते नेपालमा पहिलोपटक कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । उनले चार जना साथी निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर पहिलो पटक भारतको कोलकातामा बसेर नेकपा स्थापना गरेका थिए ।

नेकपा खोल्नुभन्दा अगाडि विसं १९९८ मा उनले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासंँग मिलेर नेपाली प्रजातान्त्रिक सङ्घ गठन गरेका थिए । कम्युनिष्ट पार्टीको स्थापनापछि पुष्पलालले साम्यवादी विचारधाराको प्रचार–प्रसार गर्न ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’ नेपालीमा अनुवाद गरेका थिए । त्यसपछि उनले कम्युनिष्ट पार्टीलाई एकिकृत गर्दै संगठित गरे ।

पुष्पलाललाई नेपालमा माक्सवादी विचार फैलाउने प्रथम व्यक्तित्व र जनवादी क्रान्तिको कार्यक्रम अघि सार्ने सिद्धान्तकारका रुपमा लिने गरिन्छ । पुष्पलालको व्यक्तिगत जीवनमा कठोर निर्वासित जीवन बिताउन, अभावैअभावमा बाँच्न र कष्टपूर्ण अवस्थामा मृत्युवरण गर्न परे पनि उनले राष्ट्र र जनताप्रतिको निष्ठालाई कहिल्यै कमजोर हुन  दिएनन् ।

अध्ययनशील नेताका रुपमा परिचित पुष्पलालसंँग नेपालको वर्तमान स्थितिका बारेका कार्यदिशा दिने क्षमता रहेको थियो । उनले नेपालको गहिरो इतिहास अध्ययन गर्नाका साथै केही पुस्तक पनि प्रकाशन गरेका छन ।  विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मनुभएका पुष्पलालको २०३५ साल साउन ७ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार ०९:४९