२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

एमाले फुटाउन अध्यादेश ल्याए मुलुकभर आगो बल्ने महेश बस्नेतको चेतावनी


६ साउन, काठमाडाैँ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सांसद महेश बस्नेतले एमालेलाई फुटाउने अध्यादेश ल्याए त्यसको विरुद्ध मुलुकभर आगो बल्ने चेतावनी दिनुभयो । आज राजधानीमा आयोजित राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री बस्नेतले उक्त घोषणा गर्नुभएको हो ।

एमालेलाई फुटाएर आफ्नो राजनीतिक भविष्य देख्ने प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाललगायतका नेताहरुका कारण मुलुक गंभिर मोडमा जाने देखेको भन्दै उहाँले आक्रोस जनाउनुभयो । जनताबाट अनुमोदिन पार्टी एमालेलाई फुटाई जनताबाट तिरस्कृत पार्टीले मुलुकको नेतृत्व गर्ने षड्यन्त्रपूर्वक कार्य भएको उल्लेख गर्दै उहाँले षड्यन्त्रका तानाबाना फालिएको अब कहिँ कतै रहेका भए पनि क्रमशः फालिदै जाने बताउनुभयो ।

त्यस्तै उहाँले विदेशी षड्यन्त्रकारी तत्वहरुको इसारामा नेपालको राजनीतिलाई ध्वस्त बनाई विदेशी रणभूमिको रुपमा अगाडी बठाउने गरी कांग्रेस, माओवादीलगायतका सरकारवादी दलहरु लागि परिरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई समेत महाअभियोग लगाउने तयारी भइरहेको सुनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारी गठबन्धनले राष्ट्रपतिलाई महाअभियोग लगाउने, सके एमाले कब्जा गरेर केपी ओली हटाउने, नसके अध्यादेश ल्याएर एमाले फुटाउने योजनाका तथा षड्यन्त्रका साथ अगाडी बढिरहेको जानकारी आएको छ । यदी त्यो सत्य हो भने सावधान, एमाले फुटाउने अध्यादेश ल्याए यो मुलुकमा आगो बल्नेछ । त्यसको जिम्मा स्वयम् सरकारवादी दलहरुले लिनुपर्नेछ ।’

न्यायलयले एमालेमा अपराध गरिरहेको उल्लेख गर्दै उहाँले सर्वोच्चको फैसला विरुद्ध राष्ट्रिय बहस गर्ने बताउनुभयो । कांग्रेस, माओवादीलगायतका सरकारवादी दलले एमालेलाई अदालतबाट बम पड्काएर त्यसको क्षतिमा लड्डु खाने दिन अब नरहेको चेतावनी समेत दिनुभयो । माधव समूहलाई लक्षित गर्दै उहाँले पार्टीभित्रका गद्धारलाई सच्चिएर आए अन्तिम पटक अवसर दिएको अब पनि नसच्चिए एमालेबाट सदाको लागि विदा गर्ने स्पष्ट पार्नुभयो ।

माओवादीले क्रान्तिका नाममा हिंसा, अराजकतावादी, आतंकवादी भएको उल्लेख गर्दै प्रचण्डले विगतमा एमालेका नेता कार्यकर्तामाथि आक्रमण गर्न थालेसँगै युथफोर्सको उदय भएको दावी गर्नुभयो । युथफोर्सले नेपालको प्रगतिशिल आन्दोलनको नेतृत्व गरेको जुन अहिले पनि उत्तिकै आवश्यकता भएको उल्लेख गर्नुभयो ।

उहाँले अघि थप्नुभयो,‘माधव कुमार नेपाल तथा झलनाथ खनालको पालामा कांग्रेस माओवादीले एमालेलाई ‘कि लाउ मायाँ मै तिर, कि लाउन उही तिर, नलाउ मायाँ दुई तिर’, एमाले न भाले न पोथी जस्ता अनेक भन्ने गरेका थिए । त्यस्ता देशी विदेशी तत्वहरुको योजनामा माधव नेपाल तथा प्रचण्डको काँधमा टेकेर एमालेलाई हान्ने प्रयास अध्यक्ष केपी ओलीले परास्त गर्नुभएको छ । जनताबाट अनुमोदित पार्टी बन्न सफल भएको छ । क्षणीकको लागि जनताबाट अनुमोदिनत नभई अदालतबाट परमादेशबाट बनेको सरकारको खासै अर्थ छैन । जनताबाट तिरस्कृत पार्टीको सरकार सिमित स्वार्थीहरुको लागि मात्र हो ।’

जनताको बहुदलीय जनवादले प्रगतिशिल, देशभक्त र जनवादी जनतालई प्रशिक्षित तथा संगठित गर्दै अगाडी बढाएको भन्दै सत्ताको आडमा मन्त्री र पैसाको आश्वासन दिई आफ्ना केही सांसदलाई देउवाको पक्षमा विश्वासको मत हाल्न लगाईएको पनि आरोप लगाउनुभयो ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार १८:२२