२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

झलनाथ खनाललाई पैसा दिने प्रधानमन्त्री देउवाको प्रतिवद्धतामा गगनको आपत्ति

६ साउन, काठमाडाैँ । काँग्रेस नेता गगन कुमार थापाले राज्यकोषबाट रकम लिएर विदेशमा नेताको उपचार गरिनु गैरकानुनी भएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर शेरबहादुर देउवाले दिल्लीमा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले ब्यहोर्ने बताएपछि थापाले त्यसकाे विरोध गर्दै जनस्वास्थ्य ऐनअनुसार विदेशमा उपचार गराइरहेका व्यक्तिलाई सरकारले उपचार खर्च ब्यहोर्न नमिल्ने बताएका हुन् ।

पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले २०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा गरिएको संशोधनमा ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’, भन्ने उल्लेख छ।

उक्त कानून २०७५ असोज २ गतेदेखि लागू भइसकेको बताउदैँ थापाले भने, ‘यो कानून कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति,प्रधानमन्त्री देखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन। कानूनको यो व्यवस्थाको सम्बन्धमा सम्माननीय प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छ।’

खनालकाे उपचारका लागि परिवार, पार्टी नै लागिरहेको छ, उनलाई उपचारका लागि सहयोग जरुरत नै परेको खण्डमा देश विदेशमा रहेका सबै नेपाली हरदम तयार रहेको उल्लेख गर्दै बुधबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यस्तो बेलामा उहाँको विदेशमा गरेको उपचारको खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाइ उहाँको बारेमा अनावश्यक टीकाटिप्पणी गर्ने वातावरण बनाएर उहाँ र उहाँको परिवारलाई दुःखी नबनाऊँ।’थापाले भनेका छन्।

मंगलबार प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारबाट दिल्लीमा उपचाररत नेता खनाललाई टेलिफोन गरी उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताएका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार १३:१६