२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

संसद पुनस्थापनाका लागि भूमिका खेल्ने सबैमा धन्यवादः सभामुख सापकोटा


२८ असार, काठमाडाैँ । प्रतिनिधि सभाको सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा पुर्नस्थापना हुनुले जनताको जित भएको प्रतिक्रिया दिनुभएको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्ने फैसला गरेसँगै न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै सभामुख सापकोटाले सर्वोच्च अदालतको संसद पुनस्र्थापना गर्ने फैसलाले जनताको जित भएको प्रतिक्रिया दिनुभएको हो । उहाँले नेपालको संविधान प्रष्ट रहेको भन्दै त्यही प्रष्टताका साथमा सर्वोच्च अदालतले फैसला गरेको बताउनुभयो । सर्वोच्च अदालतले राजनीतिक निकास दिएको र राज्यका अंगहरुलाई पनि दिशानिर्देश गरेको उहाँले उल्लेख गर्नुभयो ।

सर्वोच्च अदालतले फैसलामा उच्चस्तरीय व्याख्या गरेको र सिद्धान्त प्रतिपादन गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘आज जुन फैसला भएको छ यो फैसलाले समग्रमा भन्नुपर्दा नेपाली जनताको जित भएको छ । लोकतन्त्रको जित भएको छ । संविधानलाई रक्षा भएको छ । र यस अर्थमा यो ऐतिहासिक फैसला भएको छ भन्ने मलाई लागेको छ । यो ऐतिहासिक अबसरमा सबभन्दा पहिला म यो ऐतिहासिक फैसला गर्ने सर्वोच्च अदालतका सम्माननिय प्रधानन्यायाधिश लगायत सम्पूर्ण सम्वैधानिक इजलाशका न्यायाधिशज्यूहरुलाई म हार्दिक धन्यवाद दिन चाहान्छु ।’

सभामुख सापाकोटाले अघि थप्नुभयो, ‘यसका साथसाथै यो संसद पुर्नस्थापनाका लागि र यो फैसला गराउनका लागि भुमिका खेल्ने सबैलाई म धन्यवाद दिन चाहान्छु । यो बहुआयामिक महत्वको छ । हाम्रो संविधान लोकतान्त्रिक मूल्य, मान्यताका सबै आयामहरुलाई हामीले समेटेका छौँ । यसका साथसाथै नयाँ केही मौलिक प्रावधानहरु पनि हामीले राखेका छौँ । त्यस अर्थमा हाम्रो संविधान जति प्रष्ट छ त्यही प्रष्टताका साथ आज सम्मानित सर्वोच्च अदालतले फैसला गरेको छ । यो फैसलाले अहिलेको गाँठो त फुकाएको छ छ, अहिलेको राजनीतिक निकास पनि दिएको छ ।’

उहाँले फैसलाले बहुआयामिक हिसाबले संसद विघटनकै सन्दर्भमा सबै हामी संवैधानिक निकायको अथवा राज्यका अंगहरुलाई पनि धेरै राम्रोसित दिशानिर्देश गरेको बताउनुहुँदै भन्नुभयो ‘धेरै राम्रो व्याख्या छ । उच्चस्तरीय व्याख्या छ । यो बौद्धिक, कानुनी हिसाबले पनि, दार्शनिक हिसाबले, सैद्धान्तिक हिसाबले, वैचारिक हिसाबले, हरेक हिसाबले यो स्तरिय छ । मलाई प्रथम दृष्टिमै जो सुने । यो अलि लामोजस्तो लाग्छ । तर यसले एउटा सिद्धान्त प्रतिपादन गरेको छ । त्यसकारण यो फैसला ऐतिहासिक छ ।’

सभामुख सापकोटाले नयाँ अध्यायको सुरुवात भएको भन्दै राजनीतिक दलहरुलाई विगतको समिक्षा गर्दै संसदलाई प्रभावकारी रुपले सञ्चालन गर्नका लागि व्यवस्थित र श्रृङ्खलावद्ध योजनाका साथमा अघि बढ्न पनि आग्रह गर्नुभएको छ । प्रतिनिधि सभा विघटन गरेर राजनीतिक व्यवस्था माथि नै धक्का दिन खोजिएको भन्दै उहाँले अब त्यस प्रकारको खतराको अन्त्य भएको पनि बताउनुभयो ।

सभामुख सापकोटाले अब आफ्नो भुमिका र दायित्व पनि बढेको बताउनुभयो । आफुले संसदको गरिमा र ओझलाई बढाउनका निम्ति जिम्मेवारीपूर्वक काम गर्ने पनि उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार १८:२६