४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरूद्ध विद्यार्थी संगठनले घोषणा गरे आन्दोलन

२७ असार, काठमाडाैँ । नेपाल आयल निगमले पेट्रोलिय पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नलिएको भन्दै विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरुले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संघ, अखिल(क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धिको विरोधमा आन्दोलन गरिरहेका छन् ।

विद्यार्थी संगठनहरुले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ताका लागि असार २४ गते ७२ घण्टे अल्टिमेटम दिएको भएपनि मूल्यवृद्धि फिर्ता नगरिएको भन्दै आइताबार पत्रकार सम्मेलन गर्दै आन्दोलनको थप कार्यक्रम घोषणा गरेको हो । नयाँ आन्दोलनको कार्यक्रममा असार २८ गतेदेखि नेपाल आयल निगमका गाडीहरु चल्न नदिने, असार २९ गते पेट्रोलियम ढुवानी र विक्रि गर्ने संगठनहरुलाई पेट्रोल पम्प र ट्याङ्कर सञ्चालन नगर्न अनुरोध गर्ने र असार ३० गतेदेखि देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्याङ्कर बन्द गर्ने रहेको अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बताउनुभयो ।

त्यस्तै संयुक्त विद्यार्थी संगठनहरुले एसइइ तथा कक्षा ११ र १२ को परीक्षामा देखिएका समस्या समाधानमा राष्ट्रिय परीक्षा बोर्डको ध्यानाकर्षण गराएको छ । त्रिभुवन विश्वविद्यालयले लिनुपर्ने सबै परिक्षाहरु, एमफील र पीएचडीको समस्या तथा नयाँ विषयका निजीकरण समस्याका बारेमा विद्यार्थी संगठनहरुको संयुक्त डेलिगेसनमा राखेका माग पुरा नभएमा उपकुलपति र विश्वविद्यालयका विरुद्धमा थप संघर्ष गर्ने बताइएको छ ।

हिमालयन इन्स्युरेन्सलाई लाइसेन्स दिदाँ एक अर्ब भन्दा बढीको अवैध चलखेल भएकाले छानविनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको छानविन गरी कारबाही प्रक्रिया अगाडी बढाउन पनि विद्यार्थी संगठनले माग गरेको अध्यक्ष तामाङले जानकारी दिनुभयो । त्यस्तै नेपाल वायु सेवा निगमलाई निजीकरण गरेर समाप्त पार्ने खेलमा लागिएको भन्दै मन्त्रालयका कर्मचारी र महाप्रवन्धकलाई वर्खास्त गर्नुपर्ने मागसहित कर्मचारीहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ भने धरानस्थित वीपी कोइराला स्वासथ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिले भ्रष्टाचार गरेको भन्दै उपकूलपति ज्ञानेन्द्र गिरीलाई बर्खास्त गर्नुपर्ने माग गरिएको पनि अखिल(क्रान्तिकारी)का अध्यक्ष तामाङले बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल विद्याथी संघका अध्यक्ष राजिव ढुंगानाले विद्यार्थी संगठनहरुको ७२ घण्टे अल्टिमेटमलाई वास्ता नगरेको र छलफलको प्रयत्न समेत नगरेका कारण आन्दोलनको थप कार्यक्रम घोषणा गर्नुपरेको बताउनुभयो । उहाँले पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न र आगामी दिनमा मूल्यवृद्धि नहुने कुराको प्रत्याभुति गराउन पनि माग गर्नुभयो ।

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले विद्यार्थीहरुले शान्तिपूर्ण ढंगले विरोधका कार्यक्रम गर्दापनि प्रहरीको बर्बर दमन भएको उल्लेख गर्नुभयो । उहाँले विद्यार्थीहरुले जायज माग राख्दापनि राज्यले वक्रदृष्टि राखेको बताउनुभयो । उहाँले सरकारको लगानी भएका संस्थानलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बाङ्गो बाटोबाट नियुक्त गरेका कर्मचारीहरुले लुटिरहेको टिप्पणी गर्नुभयो । आयल निगमलाई निर्णायक ढंगले सडक आन्दोलनबाट जवाफ दिने पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २७ असार २०७८, आईतवार १७:१९