१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

प्रयोगात्मक शिक्षा सरकारको प्राथमिकतामाः मन्त्री अधिकारी

२८ असार, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान गरेको छ । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले आज यहाँ आयोजना गरिएको एक कार्यक्रममा उहाँले सार्वजनिक विद्यालयबाट एसइई परीक्षामा ‘ए’ र ‘ए प्लस’ ल्याउने ९० जना विद्यार्थी र ३५ विद्यालयका प्रधानाध्यापकलाई सम्मान गरेको हो ।

सो अवसरमा मन्त्री अधिकारीले सार्वजनिक विद्यालयको शिक्षाको गुणस्तर बढाएमात्र मुलुकको विकास हुने भन्दै सरकारले अब सामुदायिक विद्यालयको शिक्षामा जोड दिइने बताउनुभयो । पहिलेको भन्दा सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर बढेको बताउँदै उहाँले गुणस्तरीय शिक्षा नै आजको आवश्यकता हो भन्नुभयो ।

मन्त्री अधिकारीले विद्यार्थीलाई व्यावहारिक बनाउनका लागि प्रयोगात्मक शिक्षा सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै नेपालमा भौगोलिक परिवेशअनुसारको शिक्षा प्रदान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । अनेरास्ववियुका अध्यक्ष नविना लामा, क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्लले सरकारले गुणस्तर शिक्षामा ध्यान दिनुपर्ने बताउँदै विद्यार्थीलाई व्यावहारिक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

सामुदायिक विद्यालयले निजी विद्यालयसरह राम्रो नतिजा ल्याउन सक्छन् र सामुदायिक विद्यालयको हौसला बढाउनका लागि सम्मान कार्यक्रम आयोजना गरिएको अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २८ असार २०७५, बिहीबार २२:२०