४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

साउथ अष्ट्रेलियाको बहुसांस्कृतिक आयोगमा मञ्जु खड्का नियुक्त


२२ असार, एडिलेड । साउथ अष्ट्रेलियाको महत्वपूर्ण बहुसांस्कृतिक तथा जातजाति मामिला आयोगको सदस्यमा नेपाली सामाजिक अभियन्ता तथा नारी निकुञ्ज साउथ अष्ट्रेलिया संयोजक मञ्जु खड्का नियुक्त हुनुभएको छ । तिन वर्षे कार्यकाल रहने आयोगले साउथ अष्ट्रेलियामा रहेका आप्रवासीहरुको सरकार संगका अपेक्षा अनि उनका सांस्कृतिक विविधताको संरक्षणका लागि सुझाव दिने गर्दछ ।

आयोगले बहुसांस्कृतिक मुलुक अष्ट्रेलियामा रहेका विविध जातजातिका विचमा सुमधुर सम्वन्धहरु राख्नका लागि के के गर्नुपर्छ र त्यसमा के के चुनौतीहरु छन् त्यसका वारेमा पनि प्रिमियरलाई प्रतिवेदन पेश गर्ने गर्दछ ।

राज्य सरकारले आयोग गठनका लागि सार्वजनिक रुपमा इच्छुकहरुका लागि दरखास्त आव्हान गरेको थियो । दरखास्त दिनेहरुको छनौटका लागि गठित स्वतन्त्र आयोगले शैक्षिक योग्यता सहित सामाजिक पृष्ठभुमी, क्रियाशिलता वारेमा अध्ययन गरेर अध्यक्ष सहित पन्ध्र जनाको छनौट गरेको हो ।

जुलाई १ तारिखमा साउथ अष्ट्रेलियन सरकारले छनौट समितिको सिफारिसमा आयोग सदस्यमा नियुक्त खड्काले नेपाली समाजको प्रतिनिधित्व गर्दै बहुसास्कृतिक आयोगमा नियुक्त हुन पाउदा गर्व लागेको बताउनुभयो । उहाले आयोग मार्फत नेपाली समाजलाई थप योगदान गर्दै सिंगो बहुसांस्कृतिक समुदायका हकहित र अधिकारलाई सुनिश्चितका लागि क्रियाशिल रहने वताउनुभयो ।उहाले विगतमा प्रवासको दैनिक जिवन अनि अध्ययन संगै सामाजिक क्षेत्रमा क्रियाशिल हुदै आएकोमा यो नियुक्तिले थप काम गर्न प्रेरित गरेको बताउनु भयो ।

नेपालमा समेत विभिन्न सामाजिक संघ संस्थामा कृयाशिल खड्काले २०१४ मा अष्ट्रेलिया आगमन देखि नै सामाजिक क्षेत्रमा क्रियाशिल हुदै स्थानीय म्यारियन काउन्सिलबाट सामुदायिक नेतृत्व विकासको कोर्स गरेर काउन्सिलको सामुदायिक गतिविधि मुल्यांकन टिममा रहेर काम गर्नुभएको थियो । उहाले लामो समय एडिलेड नेपाली विद्यालयमा प्रधानाध्यापकको रुपमा पनि योगदान गर्नु भएको थियो । भने २०१९ देखि एनआरएनए नारी निकुञ्ज साउथ अष्ट्रेलियाको संयोजकका रुपमा सक्रिय हुनुहुन्छ ।

 

प्रकाशित मिति : २२ असार २०७८, मंगलवार १७:३५