१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

संसद विघटनविरूद्धको बहस आज सकिँदै, कहिले आउला फैसला ?

२१ असार, काठमाडौँ। संसद विघटनविरुद्ध संवैधानिक इजलासमा जारी बहस आज सकिँदै छ। आइतबार सभामुख पक्षका कानुन व्यवसायीले बहस सकाएपछि रिट निवेदक पक्षका अधिवक्ताहरुले जवाफी बहस शुरू गर्नु भएकाे छ । जवाफी बहसका लागि ३ घण्टा समय तय गरिएकोमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले हिजो एक घण्टा बहस गरिसक्नु भएको छ ।

अब उहाहरुका लागि छुट्याइएको तीन घण्टाको समयमा दुई घण्टा मात्रै बाँकी रहेकाे छ । दुई घण्टाकाे समयमा आज वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले जवाफी बहस गर्नुहुने छ । जवाफी बहस सकिएपछि एमिकस क्युरीको तर्फबाट राय प्रस्तुत गरिने छ । एमिकस क्युरीका लागि २ घण्टाको समय छुट्याइएको छ ।

एमिकस क्युरीमा सर्वोच्च अदालत बार एसोसिएशनका तर्फबाट वरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसी तथा नेपाल बार एसोसिएशनका तर्फबाट वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठक हुनुहुन्छ। आजै बहस सकिने सम्भावना छ । आजै बहस सकिएको अवस्थामा मंगलबार वा बुधबारसम्म संवैधानिक इजलासले प्रतिनिधि विघटन ‘सदर’ वा ‘बदर’ भन्नेबारे फैसला गर्ने छ ।

गत असार ९ गते संसद विघटनविरुद्ध परेका ३० वटा रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

प्रतिनिधि सभा पुनःस्थापना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै देउवासहित १४६ सांसदले सर्वोच्च अदालतमा दायर गरेकाे मुद्दाको फैसला कस्को पक्षमा आउला भन्नेबारेमा सबै जनाकाे चासाे बढी रहेकाे छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार १०:४१