२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

दुई दशकपछि सर्लाही सदरमुकाम मलङ्गवामा पक्की सडक निर्माण शुरु

२० असार, सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवा नगरपालिका क्षेत्रमा झण्डै दुई दशकपछि पक्की सडकको निर्माण शुरु भएको छ । जिल्लाको नवलपुर–मलङ्गवा सडकखण्डअन्तर्गत पर्ने मलङ्गवा–१० स्थित जिल्ला विकास चोकबाट वडा नं ८ राजश्री सिनेमा हलचोकसम्म बजार क्षेत्रको भित्री सडक निर्माण शुरु भएको हो ।

करिब एक हजार ७०० मिटर लम्बाइमा दुवैतर्फ डेढ/डेढ मिटर नाला तथा १३ मिटर आरसिसी ढलान रहने गरी जम्मा १५ मिटर चौडाइको उक्त सडकको निर्माण शुरु भएपछि मलङ्गवावासी खुशी भएका छन् । केन्द्र सरकारअन्तर्गत रहेको शहरी विकास मन्त्रालयको रु १० करोड बजेटबाट उक्त सडकको निर्माण शुरु भएको मलङ्गवा नगरपालिकाले जनाएको छ ।

यसअघि ४२ मिटर चौडाइको सडक बनाउने योजना रहेको भए पनि सयौँ स्थानीय बासिन्दाको घर पूर्णरूपमा क्षति हुने र सडक पनि नबन्ने भएपछि नगरपालिकाको बोर्डको बैठकको निर्णयानुसार १५ मिटर चौडाइको सडक बनाउन लागिएको नगरप्रमुख निरसल साहले बताउनुभयो ।

प्रकाशित मिति : २० असार २०७८, आईतवार ०८:३७