२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

दुर्गा प्रसाईं भन्छनः बिएण्डसीलाई कि सम्बन्धन देउ कि सधैँका लागि बन्द गर

१९ असार, काठमाडाैँ । झापास्थित बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन, सरकार आफैँले सञ्चालन गर्न वा सधैंका लागि बन्द गर्ने विषयमा ठोस निर्णय दिन सरकारसँग माग गर्नु भएको छ । आज पत्रकार सम्मेलन गर्दै पटकपटक आफ्नो मेडिकल कलेजलाई सम्बन्धनका लागि प्रयास भए पनि अवरोध सिर्जना भइरहेको भन्दै प्रसाईंले सरकारसँग यस्तो माग गर्नु भएको हो ।

‘सम्पूर्ण मापदण्ड पूरा गरेको, विश्वविद्यालयले सम्बन्धनको सहमति प्रदान गरी सिट संख्या निर्धारणको अनुरोध गरेको, सम्बन्धनको सिफारिस शुल्क समेत बुझाइसकेको अवस्थामा समेत विभिन्न बहानाबाजी गरी आलटाल गर्ने, झुक्याउने, धम्की दिने र काम पन्छाउने परिपाटी भइरहेको छ,’ प्रसाईंले भन्नुभयो, ‘अनन्तः समयसम्म यस्तो व्यवहार राज्यका तर्फबाट हुनु भनेको नागरिकमाथि घोर अन्याय हो।’

प्रसाईंले मेची अञ्चलबासीको धरोहर रहेको आफ्नो संस्थालाई ध्वस्त र तहस नहस पार्न खोजिएको भन्दै सरकारको ध्यानाकर्षण गराउन आफूले पत्रकार सम्मेलन गरेको बताउनुभयो ।

‘प्रत्येक वर्ष नेपालमा एमबिबिएसमा नयाँ भर्नाको समय सुरू हुन्छ तथाकथित अभियन्ता समूहको धाकधम्की, आन्दोलन, अनसन सुरू हुन्छ, सबै अस्तव्यस्त हुन्छ र सम्पूर्ण विद्यार्थी विदेशिएपछि आन्दोलन वर्षात्, बाढीपहिरो, दसैँ-तिहार आयो भनी बहाना देखाएर स्थगित हुन्छ,’ प्रसाईंले भन्नुभयो ।

उहाँले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई कारबाही गर्नसमेत प्रधानमन्त्रीसँग माग गर्नु भएको छ । ‘सम्माननीय प्रधानमन्त्री तथा माननीय शिक्षा मन्त्रीलाई अनावश्यक आरोप र आक्षेप लगाई आफू बालुवाटारमा ६ घण्टासम्म बन्धक बनाइएको, जिउ ज्यान नै जोखिममा परेको, धाकधम्की दिएको, बल्ल तल्ल बाँचेर आएको भन्दै हिँड्ने उहाँले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को कार्यान्वयनमा अवरोध खडा गर्ने कार्य निरन्तर गरिरहनुभएको छ,’ प्रसाईंले भन्नुभयो, ‘उहाँलाई राष्ट्रिय चिकित्सा शिक्षा ऐनको दफा २२ को ४ अनुसार स्पष्टीकरण सोधी कारबाही अगाडि बढाउन प्रधानमन्त्रीसमक्ष अनुरोध गर्दछु ।’

चिकित्सा शिक्षा आयोगको बैठकबाट जेठ २८ गतेको बैठकले डा. प्रकाशराज पाण्डे संयोजक र सदस्यमा डा।भोजराज अधिकारी, प्रा.डा. रमेशप्रसाद आचार्य र सेमन्तराज कोइराला भएको निरीक्षण तथा अनुगमन टोली पठाए पनि चिकित्सा शिक्षा आयोगका उपाध्यक्षले आजको मितिसम्म रिपोर्ट पेश गरी सम्बन्धन अगाडि नबढाएको भन्दै उहाँले आपत्ति जनाउनुभएको छ ।

आफ्नो मेडिकल कलेजको अध्ययन टोलीमा गिरीले उनकै मुद्दामा साक्षी बनाएका व्यक्ति पठाएको भन्दै प्रसाईंले सम्बन्धनमा बाधा पार्नका लागि गिरीले अनेक तानाबाना बनाएको आरोप लगाउनुभयो । ‘चिकित्सा शिक्षा आयोगको मिति जेठ २८ मा भएको निर्णयको कार्यान्वयन नगर्ने नगराउने बदनियतले उपाध्यक्ष श्रीकृष्ण गिरीले तोकिएको समय सीमाभित्र प्रतिवेदन पेश नगर्ने नगराउने कार्य गरिरहनुभएको तथ्य स्पष्ट भएको छ,’ प्रसाईंले भन्नुभयो ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार १७:०३