२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

सरस्वती प्रधानलाई चाैकीबाट मन्त्रीको गाडीमा लिफ्ट दिएकोमा प्रधानमन्त्रीको चासो

१५ असार, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जातिय विभेद गरेको आरोपमा थुनामा रहेकी सरस्वती प्रधानलाई आफ्नो गाडीमा लिफ्ट दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई सचेत गराउनुभएको छ । जातिय विभेदको अन्त्यका लागि सरकारले नै ऐन नियम बनाउने अनि सरकारकै मन्त्रीले त्यसको कार्यान्वयन गराउनुको सट्टा विभेदमा संलग्नलाई संरक्षण दिने काम भएको भन्दै मन्त्री र सरकारको चौतर्फी विरोध भईरहेका बेला प्रधानमन्त्रीले सम्बन्धीत मन्त्रीलाई आईन्दा त्यस्तो गल्ती नगर्न सचेत गराउनुभएको हो ।

कानून मन्त्री लिलानाथ श्रेष्ठले मंगलबार मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले जातिय विभेद गरेको आरोप लागेकी सरस्वती प्रधानलाई छुटाउन मन्त्री स्वम् प्रहरी कार्यलय पुगेको र आफ्नै सवारीसाधनमा चढाएर लगेको प्रसंग उल्लेख गर्दे कानुन कार्यान्वयमा संदेह जनाएपछि मन्त्री श्रेष्ठले त्यसबारे प्रधानमन्त्रीले नै सम्बन्धीत मन्त्रीको ध्यानाकर्षण गराएको बताउनुभएको हो । उहाँले मन्त्रीको त्यसप्रकारको कार्यलाई दुर्रभाग्यपुर्ण भनी टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “गाडीमा चढाएर लगे । यो दुर्भाग्य कुरा हो । राम्रो काम होइन । हाम्रो सम्माननीय प्रधानमन्त्रीले (हास्दै) अब मैले पत्रकार साथीलाई भन्ने कि नभन्ने ? तर भन्नै पर्छ हिजो पनि सम्माननीय प्रधानमन्त्री ज्यूले मन्त्री ज्यूलाई ध्यानाकर्षण गर्नुभएको छ । मन्त्री ज्यू आवेशमा आएर यस्तो काम नगर्नुहोस् है । यो काम जुन तपाईले गर्नुभयो , त्यो ठिक भएन भन्नुभएको छ है । यसमा प्रधानमन्त्री स्वयम्को पनि ध्यानाकर्षण भएको छ । ”

सञ्चारकर्मी रुपा सुनारलाई दलित भएका कारण कोठा भाडामा नदिएको भन्दै प्रहरीले काठमाण्डौ बबरमहलकी घरपट्टी सरस्वती प्रधानलाई नियन्त्रणमा लिएको थियो । ३ दिनपछि प्रहरी नियन्त्रणबाट छुटेकी उनलाई मन्त्री श्रेष्ठले आफ्नै सवारी साधनमा लिफ्ट दिनुभएको थियो । यो विषयको सर्वत्र आलोचना हुदै आएको छ । मन्त्री श्रेष्ठले यसरी गाडीमा लैजानु भएको थियो ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलवार १७:००