१५ माघ २०८२, बिहीबार | Fri Jan 30 2026

बोधिसत्व खोप (राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविता)

–प्रकाश सिलवाल

कुनै जादुगरले
कागजका पानाहरूलाई
चपाई चपाई स्वाट्ट निलेर
ह्वालह्वाल्ती पानी निकाले झैँ
किन चटक हेर्न
विवश छन्
स्वयम्भूका आँखाहरू ?

घरी कर्ममौरीहरुलाई
डकैतीले झैँ घेर्न खोज्छ
घरी आफैँलाई
जिउँदै जलाएको सपना देख्छ
र आफ्नै मलामीको जुलुसलाई
घन्टौँ कर्कश सम्बोधन गर्छ !

यो कस्तो सङ्क्रमण हो
जसले,
लालीगुराँसको सुगन्धमा बाँचिरहेको
डाँफे चरीको
श्वासथैलीलाई
चलमलाउन दिँदैन
प्राणवायु प्रवाह हुने
कोषिकापत्रलाई नै
कुनै समय नेपालको मानचित्रबाट
कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई
अलप गराइए झैँ
क्षणभरमै अलप गराइदिनसक्छ
रक्तनलीभित्रको होमोग्लोबिन तत्वलाई
चैतमासको खहरे झैँ सुकाइदिएर
आनन्द लिन चाहन्छ
अशान्ति र पृथकतावादका सूत्रधारहरुलाई
रानीमहलका जोडीले झैँ
असीम प्रेमको आलिङ्गन सुम्पन छोड्दैन !

यतिबेला म
आधुनिक धन्वन्तरी भएर
समृद्धिको धरहरालाई सम्झिएर
एउटा त्यस्तो मेसिन बनाउँदैछु
जसले तुरुन्तै पत्ता लगाउनेछ–
यो भयानक भाइरसका कारण र असरहरु
प्रिय बुद्धभूमिविरुद्धका
घातक कुण्ठा
र तुच्छ स्वार्थका बीजहरु…

सुन !
म एउटा त्यस्तो ‘बोधिसत्व खोप’ बनाउँदैछु
जसले पहिलो मात्रामै
परास्त गर्नेछ–
सगरमाथा हाँस्दा रमाउन नसक्ने
विकृत स्नायुग्रन्थीका तमाम सङ्क्रमणहरु !

–शिवपुरी गाउँपालिका–८, थानापति, नुवाकोट
हालः काठमाडौँ
सम्पर्कः ९८५११५७६५५
इमेलः [email protected]

प्रकाशित मिति : १० असार २०७८, बिहीबार १९:३६