प्रकृति- एउटा अस्वीकृत कविता
-लक्ष्मण सिटाैला
तिम्रो आँसुले
जब मैले मेरा घाउहरु पखाले
त्यसैदिन देखि
नदीहरुले ईर्ष्या गर्न थाले
तिम्रो मायाको न्यानोले
जब मैले मेरो छाती सेक्न थाले
त्यसैदिन देखि
घामलाई बादलले छेक्न थाल्यो
तिम्रो आँखाबाट
जब मैले यो सन्सारलाइ हेर्न थाले
त्यसैदिन देखि
म अगाडि उभिएको पहाड
रिसाउन थाल्यो
तिम्रो ओठबाट
जब मैले बोल्न थाले
सधैं झै मसँग कुरा गर्ने
समुन्द्र पनि कोल्टे फर्किएको छ ।
जुन दिन देखि
मैले तिम्रा गीतहरू गाउन थाले
त्यही रात देखि
जुनकीरी पनि नाच्न छाडेकि छे
जव तिम्रो काधमा
मैले मेरो शिर राख्न थाले
त्यसै दिन देखि
फूलहरुले हड्ताल गरिरहेछन
नदीहरुले बग्न बिर्सिएपछी
समुन्द्रले मौन समाधी लिएपछि
जुनकीरीले नाच्न छोडेपछि
बतासले बहन नमानेपछि
पहाडहरुले बोल्नै अटेर गरेपछि
फूलहरुले फुल्नै छोडेपछि
भो मलाई पनि तिमी चाहिदैन प्रीय !
प्रकृति भए मात्रै त होनि
प्रेम पनि प्रेम जस्तो लाग्ने
प्रकृति छैन भने सबै कुरा मायावी !
भैगो मलाई आँसुबाट बगाइदेउ
र निदाउनु तिमी एक्लै एक्लै
बिहान , म तिम्रै सिरानीनेर खसिरहुला !
नुवाकोट / शिवपुरी -६
प्रकाशित मिति : १० असार २०७८, बिहीबार ११:४७