२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

योग उत्पत्ति हुँदा भारत भन्ने देश नै विश्वमा थिएन यो त नेपालमा भएको होः प्रधानमन्त्री ओली

७ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा भइरहेको सांस्कृतिक अधःपतन र असत्यलाई महत्व दिइने प्रवृत्ति अन्त्यका लागि योग र साधनालाई प्रश्रय दिनुपर्ने बताउनुभएको छ । विश्व योग दिवसका अवसरमा आज मूल समारोह समितिको आयोजनामा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सांस्कृतिक वैभवपूर्ण सभ्यतालाई कायम राख्न विद्यालय तहदेखि नै योग शिक्षा र अभ्यासलाई महत्व दिन आग्रह गर्नुभएको हो ।

उहाँले योग गुरुहरुलाई आफ्ना योगाभ्यास विधिमा आवश्यक परिमार्जन गरी हरेक व्यक्तिलाई सत्य निष्ठाप्रति सङ्कल्पित गराउन आग्रह गर्दै भन्नुभयो, ‘‘योग कुनै अन्धविश्वास होइन, यो मनको सफाइको माध्यम हो, यो एक अनुशासन पनि हो । योगका नाममा देखाइने आडम्बर र गरिने व्यापारलाई स्थान दिनु हुँदैन ।’’

प्रधानमन्त्री ओलीले योगको उत्पत्ति भारतमा नभइ नेपालमा भएको बताउनुभयो । उहाँले योग उत्पत्ति हुँदा भारत भन्ने देश नै विश्वमा नरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले भारतीय विद्वानहरूले तथ्य लुकाउने गरेको आरोप पनि लगाउनुभयो । उहाँले भन्नुययो, ‘त्यसबेला हुँदै नभएको भारतको चर्चा भारतीयहरू गर्न रुचाउनुहुन्छ । योगको उत्पत्ति नेपालमा भएको, या उत्तराखण्डमा भएको भन्नुहुन्न । यो भारत त्यसबेला थिएन । भारतमा त रजौटाहरु थिए । स-साना रजौटाहरूको एक खालको उपमहाद्वीपजस्तो थियो । त्यसमा पनि पतञ्जलीजस्ता महर्षिको जन्म भएको, कपिलमुनीले अभ्यास गरेको यहीँ हो । यस्ता तथ्यहरूलाई भारतीयहरूले लुकाउँछन् ।’

प्रधानमन्त्री ओलीले सबै नागरिकलाई खोप लगाएर आगामी वर्षको योग दिवसलाई खुल्ला स्थानमा मास्कबिना आउन सक्ने वातावरण निर्माण गरिने बताउनुभयो । उहाँले प्राचीन ऋषिमुनिहरुको तपस्या र साधनाका साथै योगको उद्गमस्थल नेपाल भएकाले यसलाई विश्वव्यापी बनाउन सरकार लागिरहेको पनि उल्लेख गर्नुभयो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कक्षा ४ देखि नै योग विषयको पाठ्यवस्तु तयार भइसकेकाले योग शिक्षालाई थप प्रवद्र्धन गरिने बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री उमाशङ्कर अरगरियाले योगलाई पर्यटनका रुपमा विकास गर्न कार्ययोजना बनाइने बताउनुभयो ।

योगगुरु स्वामी आनन्द अरुणले आफूभित्र मिल्नु नै योग भएको जनाउँदै नेपालले बुद्ध जयन्ती वा उपयुक्त दिनमा ध्यान दिवस मनाउन विश्व समुदायलाई प्रस्ताव गर्नुपर्ने बताउनुभयो । योगगुरु डा हरिप्रसाद पोखरेलले योग एक सर्वाेच्च चेतना भएकाले यसले विविधता र एकतालाई उजागर गर्ने जनाउनुभयो ।

संयुक्त राष्ट्र सङ्घले सन् २०१४ देखि आजको दिन (जुन २१) लाई विश्व योग दिवस मनाउन थालेको हो । आजको दिन वर्षकै लामो दिन र सूर्य दक्षिणायन हुन्छ । नेपालमा माघ १ गते राष्ट्रिय योग दिवस मनाइन्छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार १५:२२