२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

अन्नपूर्ण पोस्टले १४ महिनादेखि पत्रकारको तलब नदिएपछि फेरि आन्दोलन सुरू

५ असार, काठमाडौँ । अन्नपूर्ण पोस्टका पत्रकारले १४ महिनादेखिको तलब नपाएको पाइएको छ । तलब सुविधा मागेर आन्दोलनमा रहेका पत्रकारहरूले २०७६ चैत महिनादेखिको तलब नदिएको गुनासो गरेका छन । शनिबार भर्चुवल माध्यमबाट भएको पत्रकार सम्मेलनमा अन्नपूर्ण पोस्टले निकाले र आन्दोलनमा रहेका पत्रकारहरूले विभिन्न माग राखी व्यवस्थापनको ध्यानाकर्षण गराएका छन । उनीहरूले व्यवस्थापनले पत्रिका बन्द गर्ने भनेर नगरेको गुनासो समेत गरेका छन ।

पीडित पत्रकारहरूले शनिबार गरेको पत्रकार सम्मेलनपछि जारी गरेको प्रेस विज्ञप्ति

२०७८ असार ५ गते
अन्नपूर्ण पोस्ट्का पीडित पत्रकारहरुको
प्रेस विज्ञप्ति
आदरणीय पत्रकार मित्रहरु,
व्यावसायिक पत्रकारितामा दिनप्रतिदिन चुनौती थपिँदै गएका छन् । काममा लगाउने तर नियुक्तिपत्र नदिने, न्यूनतम पारिश्रमिक पनि उपलब्ध नगराउने, समयमा तलबभत्ता नपाउने, बिनाकारण सेवाबाट बाहिरिनुपर्ने, सेवाबाट हटाउन पाइक नपर्ने ठाउँमा सरुवा गरिदिने, अवकाशपछि प्राप्त गर्नुपर्ने सेवा सुविधा नदिने जस्ता समस्या मिडिया हाउसभित्र श्रमजीवी पत्रकारहरुले भोग्दै आएका छन् । यी सबै श्रमजीवीहरुका साझा समस्या हुन् । त्यसको निराकरणको लागि हामी पत्रकार सम्मेलन गर्न बाध्य भएका हौं । तपाई हामी सबैको साथ र सहयोगले यो समस्याबाट पार पाउन सकिन्छ र पत्रकारिताको भविष्य पनि सुरक्षित हुन सक्दछ भन्ने हाम्रो विश्वास छ ।

अन्नपूर्ण मिडिया हाउसमा काम गर्ने कुनै पनि श्रमजीवी पत्रकारले २०७६ साल चैतयताको तलबभत्ता पाउन सकेका छैनन् । हाम्रो प्रेस पास नवीकरण भएको छैन । हाम्रो तलबभत्ताबाट काटिँदै आएको टी.डी.एस. कम्पनीको तर्फबाट सम्बन्धित कर कार्यालयमा दाखिला गरिएको छैन । तलबमानबाट कट्टा गरिएको सञ्चयकोषको रकम सञ्चयकोष खातामा जम्मा गरिएको छैन । यी समस्या समाधान होस् भनी २०७७ साल माघ २१ गते हामीले अन्नपूर्ण पोस्ट्का सम्पादकलाई अनुरोध पत्र बुझाएका थियौं । त्यसअघि पनि मौखिक रुपमा पटकपटक अनुरोध गर्दै आएका थियौं । तलबभत्ताको भुक्तानीको लागि लिखित अनुरोध पत्र बुझाएका हामी श्रमजीवी पत्रकारहरुलाई उपहारस्वरुप राजीनामाको लागि दबाब दिन थालियो ।

राजीनामाको लागि दिएको पटकपटकको व्यक्तिगत दबाबलाई बेवास्ता गरी बसेका हामी श्रमजीवी पत्रकारहरुलाई २०७७ फागुन २० गते सम्पादक अखण्ड भण्डारीले आफ्नो कार्यकक्षमा बोलाई सामूहिक रुपमा राजीनामा दिन दबाब दिनुभयो । पृष्ठभूमिमा पत्रिका बन्द गर्ने सूचना मौखिक रुपमा दिइयो । त्यसलगत्तै २०७७ फागुन २५ गते अन्नपूर्ण मिडिया हाउसका सी.ई.ओ. मानस घिमिरेमार्फत पत्रिका बन्द गर्न लागेकाले सम्पूर्ण श्रमजीवीहरुलाई राजीनामा दिन पुनः दबाब दिइयो । त्यस समय सम्पादक अखण्ड भण्डारी र अन्नपूर्ण पोस्ट् डककमका सम्पादक विष्णु सुवेदी पनि उपस्थित हुनुहुन्थ्यो । हामीले आधिकारिक सूचना निकाल्न अनुरोध गर्यौं । तर, उहाँहरुले बजारमा रकम फसेकाले लिखित सूचना ननिकाली यसैलाई आधिकारिक मान्न आग्रह गर्नुभयो ।

पटकपटकको दबाबपछि हामीहरु राजीनामा दिन बाध्य भयौ र संयुक्त राजीनामा पत्र पनि बुझायौं । कम्पनीले हाम्रो राजीनामा पत्र स्वीकृत त गर्यो तर सेवा सुविधा दिन इन्कार गर्यो । यसबीचमा संवादको माध्यमबाट समस्या समाधान होस् भनेर हामीले धेरै पहल गर्यौ । नेपाल पत्रकार महासंघमार्फत पनि उक्त कार्यको लागि अनुरोध गर्यौ तर कुनै निकाश ननिस्किएपछि बाध्य भई सञ्चार विभागमा निवेदन लिएर गएका छौं । त्यसबाट पनि कुनै निकाश ननिस्किए अन्य कानूनी बाटाहरु अबलम्बन गर्नेछौं । नेपाल पत्रकार महासंघले हाम्रो अवस्थालाई गम्भीर रुपमा लिएको छ । तपाईहरुको साथ सहयोगमा नेपाल पत्रकार महासंघमार्फत हामी अगाडि बढ्नेछौं भन्ने जानकारी यस विज्ञप्तिमार्फत गराउन चाहन्छौं ।

यो सबै श्रमजीवीको साझा समस्या हो । महामारीको समयमा उच्च मनोबलका साथ सेवामा खटिनुपर्ने हामी श्रमजीवी पत्रकारहरु सेवा सुविधाको लागि सडका उत्रिनुपर्ने अवस्था आयो । यो खेदजनक छ ।
हाम्रा मागहरुः
मिडिया हाउस वा मिडिया मालिकको कारणले कुनै पनि पत्रकारले जागिर गुमाउन नपरोस्, न्यूनतम पारिश्रमिकको ग्यारेन्टी होस्, तलबभत्ता भुक्तानीको लागि याचना गर्न नपरोस् भनी कानूनले दिएको अधिकारलाई समटेर यो पत्रकार सम्मेलनमा राखिएको छ ।

१. कुनै पनि मिडिया हाउसभित्र काम गर्ने श्रमजीवी पत्रकारहरुलाई समान व्यवहार गरियोस् ।
२. अन्नपूर्ण पोस्ट्मा कार्यरत श्रमजीवी पत्रकारहरुको २०७६ चैतयताको भुक्तानी हुन बाँकी सम्पूर्ण तलबभत्ता (चाडपर्व भत्तासमेत) भुक्तानी होस् ।
३. दबाबपूर्ण अवकाशबाट बाहिरिएका हामी श्रमजीवी पत्रकारहरुलाई दिनुपर्ने सेवा सुविधा– क्षतिपूर्ति, उपदान, सञ्चयकोष, घरबिदा र बिरामी विदाको रकम तत्काल उपलब्ध गराइयोस् ।
४. प्रत्येक वर्ष एक महिनाको तलब बराबर उपचार खर्च सुविधा दिनुपर्नेमा आजसम्म पनि नदिइएकाले प्रत्येक वर्षका लागि हिसाबमा हुन आउने सम्पूर्ण रकम उपलब्ध गराइयोस् ।
५. दबाबपूर्ण अवकाशपछि सेवा सुविधाको रकम पूर्ण भुक्तानी नहुँदाको दिनसम्मको तलबभत्ता भुक्तानी गरियोस् ।
६. हाम्रो तलबमानबाट कट्टा गरी राखिएको तर सम्बन्धित खातामा जम्मा नगरिएको टी.डी.एस. रकम र सञ्चयकोषको रकम अविलम्ब खातामा जम्मा गरियोस् ।
७. टी.डी.एस. भुक्तानी र प्रेस पास नवीकरण नभएका कारणले पुग्न गएको क्षतिको समेत क्षतिपूर्ति माग यस विज्ञप्तिमार्फत गरिएको छ ।
यो सम्पूर्ण श्रमजीवी पत्रकारहरुको साझा अधिकार हो । हामीले यो नजिरको रुपमा स्थापित होस् भन्ने चाहेका छौं । यसै नजिरको माध्यमबाट अब उप्रान्त कुनै पनि मिडिया हाउसमा कार्यरत पत्रकारहरुलाई सेवाबाट हटाइने, तलबभत्ता नदिने, अनावश्यक सरुवा गर्ने, न्यूनतम पारिश्रमिक नदिने जस्ता कार्यहरुको सहज निकाश निस्कियोस् भन्ने हाम्रो चाहना छ । मिडिया हाउसबाट भएका गल्तीको सजाय मिडिया हाउसले नै पाउनुपर्छ पत्रकारहरु त्यसको शिकार हुनुहुँदैन भन्ने हाम्रो भनाइ रहेको छ ।
धन्यवाद ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार १८:४७