२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

बाढी-पहिरो प्रभावितहरुको उद्धार र राहतमा जुट्न पार्टीका नेता-कार्यकर्तालाई प्रचण्डको निर्देशन

२ असार, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी-पहिरो प्रभावितहरुको सेवामा जुट्न पार्टीका नेता-कार्यकर्ताहरुलाई निर्देशन दिनुभएकाे छ । प्रचय्डले बुधबार बिहान टेलिफोन गरी स्थानीय सरकार, जिल्ला प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा परिचालित हुन निर्देशन दिनुभएकाे हाे ।

उहाँले बुधबार एक विज्ञप्ति जारी गर्दै लेख्नुभएकाे छ, ′केही दिन अघिदेखि परेको अविरल बर्षासँगै देशका विभिन्न भागहरुमा बाढी र पहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दछु । बाढी र पहिरोमा परी निधन हुनुभएकाहरुमा श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बाढी र पहिरोमा परी हराई रहेकाहरुको यथाशीघ्र खोजी गर्न सरकारसँग आग्रह गर्दछु ।बाढी–पहिरोले सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न भागहरुमा धनजनको ठूलो क्षति भएको छ भने कोशी, नारायणी, सेती, कमला, तिनाउ, कर्णाली, महाकाली लगायतका नदीहरुमा पानीको बहाव उच्च भई बस्तीहरु डुब्ने खतरा पैदा भएको छ ।
मौसमविद्हरुको पूर्वानुमानको ख्याल नगरी र विगतका प्राकृतिक प्रकोप न्यूनीकरण र रोकथामका उपायहरुको अनुभव समेतको वेवास्ता गर्ने सरकारी रबैयाका कारण धनजनको यति ठूलो क्षति भएको हो । हरेक वर्ष वर्षायाममा तराई मधेस डुब्ने र पहाडी भू–भागमा पहिरो जाने समस्याको दीर्घकालिन हलका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै तत्काल उद्धार र राहत कार्य प्रभावकारी बनाउन सरकारसँग विशेष आग्रह गर्दछु । यस महाविपत्मा राहत र उद्धार कार्यमा आ–आफ्ना क्षेत्रबाट जुट्न पार्टीका नेता तथा कार्यकर्ताहरु निर्देशन गर्दछु ।
राहत र उद्धार कार्यमा जुटिरहेका सुरक्षाकर्मी, समाजसेवी र अन्य स्वयंसेवी जनसमुदायहरुको सक्रियताप्रति धन्यवाद ज्ञापन गर्दछु । बाढीपहिरोमा परी ज्यान गुमाउनुभएका परिवारलाई उचित क्षतिपूर्ति, बेपत्ताहरुको खोजी र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारका लागि सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछु ।‘

प्रकाशित मिति : २ असार २०७८, बुधबार ११:२३