१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

बागमती सरकारको ५७ अर्ब ७२ करोडको बजेट सार्वजनिक, यी हुन विशेषता

आज प्रस्तुत बागमती प्रदेश सरकारको आव २०७८–७९ को बजेटको सार संक्षेप

– आगामी आर्थिक वर्षको क्षेत्रगत नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न रु. ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार विनियोजन

– “प्रदेश प्रमुख कोभिड-१९ खोप कार्यक्रम” मार्फत नेपाल सरकारसँगको समन्वय र सहकार्यमा प्रदेश भित्रका सबै नागरिकहरुलाई कोरोना भाइरस विरुद्धको खोप प्रदान गर्न रु. २ अर्ब बजेट व्यवस्था

– साविक “प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रमलाई” खारेजी गरी कोभिड- १९ को प्रभाव न्यूनीकरण गर्दै जनताको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्य सहित “प्रदेश पूर्वाधार, स्वास्थ्य प्रवर्द्धन तथा कोभिड पुर्नस्थापना साझेदारी कार्यक्रम” २ अर्ब ४२ करोड बजेट विनियोजन

-“उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ऋण प्रवाह गर्ने कार्यक्रम” लाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिन रु. २ अर्ब बजेट विनियोजन

-” मेरो गाउँ: उद्यम सहित जिउँने ठाउँ” भन्‍ने अभियान मार्फत् स्थानीयस्तरमा नै रोजगारी सिर्जनाका लागि साझेदारीमा क्षमता विकास, प्राविधिक सीप प्रदान सम्बन्धी कार्यक्रम सञ्‍चालन गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ ।
-कोभिड-१९ महामारीले उद्योग, वाणिज्य तथा पर्यटन क्षेत्रमा पारेको असरलाई सम्बोधन गर्न “जहाँ प्रविधि, पुँजी र सीप, त्यहाँ युवाको हित” भन्‍ने सोचसहित युवाहरुमा उद्यमशिलता र स्वरोजगार विकास गर्न प्रविधि हस्तान्तरण, सहुलियतपूर्ण कर्जा, सीपमूलक तालिम लगायत युवालाई प्रोत्साहान गर्ने कार्यक्रम प्रस्ताव

-कोरोनाका कारण आमाबाबु दुवै गुमाएका बालबालिकाहरूलाई स्थानीय तहसँगको सहकार्यमा मासिक रु. ३ हजारको दरले शैक्षिक तथा सामाजिक भत्ता, अन्य कारणबाट आमाबाबु दुवै गुमाएका बालबालिकाहरूलाई मासिक रु. २ हजारका दरले सामाजिक सुरक्षा भत्ता

-“मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम” लाइ नसर्ने रोगको रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रित गरी सञ्‍चालन गर्न रु. २२ करोड बजेट विनियोजन यस कार्यक्रम मार्फत क्‍यान्सर रोग लागेका र मस्तिष्क घात भएका विपन्‍न नागरिकलार्इ सहयोग गर्ने, महिलामा हुने पाठेघर एवम् स्तन क्‍यान्सर उपचारमा सहयोग गर्ने, अब्स्ट्रेटिक फिष्टुलाको निःशुल्क परीक्षण गर्ने, हृदयघात उपचारमा सहयोग गर्ने र लक्षित वर्गलार्इ निःशुल्क स्वास्थ्य परीक्षण गर्ने लगायतका कार्यक्रम कार्यान्वयन गरिनेछ

-प्रदेश विश्‍वविद्यालयको स्थापना सम्वन्धी प्रारम्भिक कार्य गर्न बजेट विनियोजन

-“बागमती प्रदेशको इच्छा, समृद्धिको लागि प्राविधिक शिक्षा” अभियानलाई साकार पार्न सामुदायिक विद्यालय एवम् शिक्षालयहरूको भौतिक तथा शैक्षिक पूर्वाधारको विकास गरी गुणस्तरीय प्राविधिक शिक्षामा पहुँच अभिवृद्धि गर्न बजेटको व्यवस्था

– निर्माणाधीन खेलकुद पूर्वाधारको निर्माण कार्य दुई वर्ष भित्र सम्पन्‍न गर्न रु. २९ करोड बजेट विनियोजन

– “किसानका गह्रा: सधैँ हराभरा” हुने गरी “सुख्खाटार लिफ्ट सिंचाइ क्षेत्र विशेष कार्यक्रम” लाई निरन्तरता दिँदै २५ वटा लिफ्ट सिंचाइ योजना निर्माण कार्य अघि बढाउन र निर्माणाधीन तथा सम्पन्‍न भइसकेका भूमिगत स्यालो तथा डिप ट्‍युवेल सिंचाइ आयोजनाहरुमा सोलार प्रणाली जडान कार्यको लागि बजेट व्यवस्था

-प्रदेश गौरवको आयोजनाको रुपमा रहेको पोष्ट बहादुर बोगटी (भीमफेदी-कुलेखानी) सुरुङ्ग मार्गको निर्माण कार्य संघीय सरकारको समेत सहलगानीमा निर्माण गर्ने गरि रु. ७५ करोड बजेट विनियोजन

-प्रदेश राजधानी हेटौडा – भरतपुर – मेघौली जोड्न मेट्रो रेल, ट्राम जस्ता यातायात सञ्‍चालनको पूर्व सम्भाव्यता अध्ययनको लागि बजेटको प्रबन्ध

-“मुख्यमन्त्री प्रादेशिक सडक कार्यक्रम” अन्तर्गत प्रदेशको मुख्य आर्थिक तथा बजार केन्द्र, धार्मिक, ऐतिहासिक, पर्यटकीय, औद्योगिक तथा अन्य महत्त्वका स्थलहरु जोड्ने रणनीतिक सडक वा उपमार्ग (बाईपास) जस्ता आयोजनाहरुका लागि रु. ३ अर्ब २५ करोड बजेट विनियोजन

-“प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजना” मार्फत बागमती प्रदेशको राजधानी हेटौडालाई सुविधा सम्पन्‍न बनाउन सरकारी कार्यालय भवन, शिक्षा, स्वास्थ्य, सडक लगायतका विकासका पूर्वाधारहरुको निर्माण गर्न रु. ९७ करोड बजेट विनियोजन

-वातावरणमैत्री ‘विद्युतीय बस’ र ठूला सार्वजनिक यातायात संचालन तथा व्यवस्थापन गरी यातायात सेवालाई सर्वसुलभ, विश्‍वसनीय र मितव्ययी बनाउन प्रदेश यातायात सञ्‍चालन तथा व्यवस्थापन बोर्ड मार्फत कार्यान्वयन गर्ने गरी नेपाल सरकारको सहलगानीमा आवश्‍यक पूर्वाधार सहितको विद्युतीय बस सेवा सञ्‍चालन गर्न रु. ५० करोड बजेट विनियोजन

प्रकाशित मिति : १ असार २०७८, मंगलवार १७:४४