२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

पूर्व मुख्यमन्त्रीको हैसियतमा कुनै सुबिधा नलिने एमाले नेता गुरूङको घोषणा

३१ जेठ, काठमाडाैँ । नेकपा (एमाले)का नेता पृथ्वी सुब्बा गुरूङले पूर्व मुख्यमन्त्रीको हैसियतका नाममा कुनै सुविधा नलिने घोषणा गर्नुभएको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्‌ले पूर्व मुख्यमन्त्रीलाई सुविधा दिने कानुन बनाउने निर्णय गरेको समाचार बाहिरिएपछि गुरुङले पूर्व मुख्यमन्त्रीका रुपमा कुनै सुविधान नलिने घोषणा गर्नुभएको हो ।

गुरुङले भन्नुभएको छ, ‘मलाई पूर्व मुख्यमन्त्रीको हैसियतका नाममा कुनै सुविधा लिने एक रत्ति पनि इच्छा छैन। त्यसैले लिनेछैन।’ गुरूङको सचिवालयले भनेको छ, ‘माननीय पृथ्वी सुब्बा गुरुङ प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतबाटै जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्नुहुन्छ। नवगठित सरकारले जनताको सुविधामा ध्यान देओस् भन्ने एकमात्रै चाहना माननीय पृथ्वीसुब्बा गुरुङज्यूको रहेको प्रष्ट पारिन्छ।’

यसअघि गण्डकी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले सरकारले पूर्व मुख्यमन्त्रीहरूको सुविधा थपेर खर्च बढाउन नभइ कानुन बनाएर व्यवस्थित गर्न खोजेको स्पष्ट पार्नुभएको थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार २०:२०