३ मंसिर २०८१, सोमबार | Tue Nov 19 2024

श्रीमतीलाई तन्नामा पोको पारी मस्र्याङ्दी नदीमा फाल्ने गोरखाका रामबहादुर पक्राउ

२८ जेठ, गोरखा । श्रीमतीलाई तन्नामा पोको पारेर मस्र्याङदी नदीमा फालेको आरोपमा एक षुरुषलाई प्रहरीले आज पक्राउ गरेको छ । पालुङाटार नगरपालिका–७, च्याङ्लीका ४४ वर्षीय रामबहादुर कामीलाई आफ्नै श्रीमती मारेर मस्र्याङदी नदीमा फालेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

कामीले आज बिहान २४ वर्षीय श्रीमती सम्झना रेग्मीलाई गोरखा र तनहुँ जोड्ने नयाँपुलस्थित झोलुङ्गे पुलबाट फालेको देखेपछि स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए । घटना लगत्तै पक्राउ परेका अभियुक्त कामीले श्रीमतीको गए राति नै मृत्यु भएकाले दाहसंस्कार गर्न एक्लैले सम्भव नभएपछि तन्नामा पोको पारी शव नदीमा फालिदिएको स्वीकार गरेको प्रनाउ दाहालले बताउनुभयो ।

नदीमा फालिएको भनिएको शवको खोजी भइरहेको भए पनि अहिलेसम्म फेला नपरेको उहाँले जानकारी दिनुभयो । कामीलाई अस्थायी प्रहरी पोष्ट बिरुवाटार र इलाका प्रहरी कार्यालय ठाँटी पोखरीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका कामी बेवारिसे अवस्थामा नयाँपुलमुनि ओडारमा श्रीमती सम्झनासंाँ बस्दै आएको खुलेको प्रहरीको भनाइ छ । उनीहरुले छ महिना अघिमात्र बिहे गरेका थिए । घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार १७:४८