२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

-मनोज ज्ञवाली 

दुई ठगहरुले बादशाहका लागि अत्यन्त राम्रो पोशाक तयार गर्न सक्ने बताएका थिए। जुन कसैले सपनामा पनि कल्पना गरेका नहोलान् । उनीहरुले भनेका थिए कि, त्यस चमत्कारी पोशाकलाई मूर्ख अथवा आफ्नो पदको लागि अयोग्य व्यक्तिले आफ्नो आँखाले देख्न सक्ने छैन । ठगहरुको चमत्कारी बचन सुनेपछि बादशाहले तुरुन्तै आफ्नो लागि त्यस्तै पोशाक तयार गर्ने आदेश दिए । पोशाक तयार गर्ने काम कहाँसम्म पुग्यो भन्ने पत्ता लगाउन बादशाहले कयौँ पटक आफ्नो मन्त्रीहरुलाई ती ठगहरुले काम गरिरहेको ठाउँमा पठाए । मन्त्रीहरुले प्रत्येक पटक त्यहाँबाट फर्केर पोशाक धमाधम तयार भइरहेको आफ्नै आँखाले देखेको र त्यो एकदमै राम्रो रहेको कुरा बादशाहलाई बताए । वास्तवमा तिनीहरु झुठो बोलिरहेका थिए, किनभने तिनीहरुले केही पनि देखेका थिएनन् । तर तिनीहरुमा साँचो कुरा भन्ने साहस थिएन, किनभने त्यसो गरेमा तिनीहरुलाई मूर्ख ठानिन्थ्यो अथवा मन्त्री पदको लागि अयोग्य मानिन्थ्यो । यो कुरा तिनीहरुका लागि झन् हानिकारक हुन्थ्यो ।

बादशाहको इच्छा के थियो भने, जब उनको नयाँ पोशाक तयार हुनेछ, तब उनी पहिले नै कुनै दिन निश्चित गरेर एउटा भव्य समारोहको आयोजना गर्नेछन् र त्यही मौकामा आफ्नो नयाँ पोशाक लगाउने छन् । आखिरमा त्यो दिन पनि आइपुग्यो । दुबै ठगहरुले बादशाहलाई आफ्नो पुरानो कपडा फुकाल्न भने । त्यसपछि तिनीहरुले आफ्नो हाउभाउद्वारा बादशाहलाई नयाँ पोशाक लगाइदिन लागेझैँ गरे । त्यहाँ उपस्थित बादशाहका सेवकगण आफूलाई मूर्ख या पदको लागि अयोग्य ठानियोस् भन्ने चाहँदैनथे । त्यसैले तिनीहरु पोशाकको प्रशंसामा ‘वाह ! वाह !’ गर्न थाले । बादशाहले पनि नोकर–चाकरको सहमतिमा आफ्नो टाउको हल्लाएर परम सन्तोष व्यक्त गरे । त्यसपछि उनी नाङ्गै नै महलबाहिर निक्लिए तथा शहरमा घुमफिर गर्न लागे । सडकमा आवत–जावत गर्ने मानिसहरु पनि मूर्ख नठानियोस् भनेर बादशाहको नयाँ पोशाकको प्रशंसा गर्न लागे, मानौँ त्यो पोशाक उनीहरुले सँच्चि नै देखिरहेका होऊन् । तर त्यसैबेला एउटा बच्चाले अचानक बडो सरलतापूर्वक भनिदियो, ‘ओहो ! यो मान्छेको जिउमा एउटा लुगा पनि छैन ।’

यो कुरो त्याहा रहेका अनेक मानिसहरुका कानमा पर्यो । र, एकएक गरी यो कुरा सबै मानिसहरुमा पुग्यो । अब उनीहरु हाँस्न र हल्ला गर्न लागे । उनीहरु भन्दै थिए – ओहो, साँच्चै बादशाहले त एउटा लुगा पनि लगाएका छैनन् । बादशाहको मनमा उनीमाथि छल गरिएको छ भन्ने आशंका अचानक पैदा भयो । तर उनको लागि यस रमितालाई अन्त्य गर्नु पनि त्यति सजिलो थिएन । त्यसैले उनी झन् ठाँटसँग गजक्क परेर हिँड्न लागे र आफ्नो आशंका समाप्त गरेपछि मात्रै दरबारमा फर्किने निश्चय गरे ।

रमितेहरुको भीडमा बादशाह अगाडिअगाडि हिँडिरहेका थिए, मानौँ केही भएकै छैन । उनी यति अर्रो भएर ठाँटसँग हिँडिररहेका थिए कि उनको पिठ्यूँ र गर्दन दुख्न थालिसकेको थियो । उनका नोकरहरु पनि उनको पछिल्तिर यसरी हिँडिरहेका थिए, मानौँ तिनीहरु बादशाहको राजसी पोशाकको फेर समातिरहेका छन् । यस्तो स्वाङ पार्न तिनीहरुले जुन भूमिका खेल्नु परिरहेको थियो, त्यससँग तिनीहरु राम्ररी परिचित थिए । तर आफ्नो मुखबाट हाँसोको खित्का नछुटोस् भनेर तिनीहरुले आफ्नो ओठालाई दाँतले थिचिरहेका थिए । किनभने तिनीहरु आफूलाई मूर्ख ठानियोस् भन्ने चाहँदैनथे । बादशाहका अंगरक्षकहरु भुइँमा आँखा गाडेर हिँडिरहेका थिए, किनभने आपसमा तिनीहरुको आँखा जुध्ला र हाँसोको फोहोरा निस्केला भन्ने तिनीहरुलाई ठूलो डर थियो ।

तर जहाँसम्म नगरवासीहरुको प्रश्न थियो, उनीहरु त सीधा, सादा र निष्कपट हृदयका मानिसहरु थिए । हाँसो रोक्नका लागि ओठ टोक्ने वा आँखा भुइँतिर फर्काएर हिँड्ने कुरामा उनीहरुको ध्यान थिएन । उनीहरु खित्का छाडेर हाँस्न थाले ।’ओहो ! कति राम्रो राजा ! हेर न कति ठाँट्टिएर हिँडिरहेका छन् ।’ कुनै व्यक्तिले व्यंग्यपूर्ण मुस्कानसहित भन्यो ।

‘आफ्नो होसहवासै गुमाएजस्ता छन् ।’ अर्कोले अट्टहास गर्यो । ‘कति दुब्लो र कुरुप हेर त !’ तेस्रो व्यक्तिले छेड हान्दै भन्यो ।‘उनको काँध र खुट्टामा हेर त ! प्वाँख उखेलिएको बकुल्लाजस्तो छ ।’ चौथो व्यक्तिले भन्यो । मानिसहरुका यस्ता टीकाटिप्पणी सुनेर बादशाहले आफूलाई अपमानित अनुभव गरे । उनलाई रिस उठ्यो । उनले आफ्नो सवारी रोकिदिए । त्यसपछि आफ्ना मन्त्रीहरुलाई हकार्दै उनले भने, ‘तिमीहरु यी मूर्ख र कृतघ्न मानिसका कुराहरु सुनिरहेका छौ ? मानिसहरु बक्बक् गर्दै हिँडिरहेका छन् । तिमीहरु तिनलाई किन चूप लगाउन्नौ ? मेरो नयाँ राजसी पोशाक कति राम्रो छ ! यो पोशाक पहिरिएपछि मेरो राजसी ठाँटमा कत्रो बढोत्तरी भएको छ । आखिर तिमीहरु सबैले पनि त यो पोशाकको प्रशंसा नै गरिरहेका छौ । अबदेखि म यही पोशाक नै लगाउने गर्छु, अरु लुगा लगाउँदिन । मलाई नाङ्गै छ भनेर भन्ने आँट गर्ने कुनै पनि व्यक्ति वास्तवमा पाजी र गद्दार हो । त्यसैले त्यस्तो व्यक्तिलाई गिरफ्तार गरेर फाँसीको सजायँ दिनुपर्छ । यो मेरो नयाँ कानून हो । यो कानून हुने तुरुन्त घोषणा गर ।’

बादशाहका मन्त्रीहरु तुरुन्तै यस काममा व्यस्त भए । तिनीहरुले झ्याली पिटेर मानिस जम्मा गर्न र यो नयाँ कानून लागू हुने घोषणा ठूलो आवाजमा गर्नका लागि कटुवालहरुलाई आदेश दिए । यस घोषणापछि त्यसको असर के पर्यो भने केही समयका लागि मानिसहरुको हाँसो र छेडछाड थामियो । यसले गर्दा बादशाह धेरै खुसी भए र आफ्नो लावालस्करसहित अगाडि बढे । तर उनी धेरै पर नपुग्दै फेरि मानिसको हाँसो र छेडछाडको आवाज बारुदको विस्फोटजस्तै उनको कानमा पर्न थाल्यो ।

‘उनको शरीरमा एक धेरोसम्म छैन ।’उनको छाला कति घिनलाग्दो र अशोभनीय छ ।’मानिसहरु छेडछाड गरिरहेका थिए र बीचबीचमा खित्का छाडेर हाँसिरहेका थिए । बादशाहलाई फेरि रिस उठ्यो । उनी मन्त्रीतिर फर्किए र रिसले गर्जिंदै भने, ‘तिमीहरुले सुनेनौ तिनीहरु के बक्दैछन् ?’ ‘हो हजुर ! हामीले सुन्यौँ ।’ डरले काँप्दै मन्त्रीहरुले जवाफ दिए ।’त्यसोभए तिमीहरुले भर्खरै मैले बनाएको नयाँ कानून बिर्सियौ ?’ बादशाहले आफ्नो कुरा सिध्याउनुअघि नै मन्त्रीहरुले घोचपेच गर्ने र हाँस्ने सबै मानिसहरुलाई पक्रेर ल्याउन सैनिकहरुलाई आदेश दिए ।

मानिसहरुमा खलबली मच्चियो । सैनिकहरु आफ्ना भालाहरु उज्याउँदै दगुरादगुर गरेर ती मानिसहरुलाई धरपकड गर्न थाले, जो त्यहाँबाट उम्केर भाग्ने प्रयास गरिरहेका थिए । यो दगुरादगुर र भागम्भागमा थुप्रै मानिसहरु भुइँमा पछारिए । केही मानिसहरु मानिसहरुमाथि कुल्चिएर उफ्रिँदै भाग्न पुगे । त्यसैले अब हाँसो र छेडछाडको साटो मानिसहरुको चित्कार र रुवाबासी सुनिन थाल्यो । लगभग पचास जनालाई पक्राउ गरियो । राजाको कानून कतिको कडा छ भनेर प्रजाहरुले बुझून् र कसैले पनि त्यस कानूनलाई अबहेलना गर्न नसकून् भनेर बादशाहले पक्राउ परेका मानिसहरुलाई घटनास्थलमै मारिदिने आदेश दिए ।

यो घटनापछि बादशाह नितान्त नाङ्गै रहन थाले । कहाँसम्म भने उनी आफ्नी रानीको महल र राजदरबारमा पनि एकदम नाङ्गै जान्थे र बेलाबेलामा आफ्नो पोशाकमा परेको मुजा सम्याइरहेजस्तो हाउभाउ पनि देखाउँथे । जब बादशाहका भित्रीनी र दरबारका अरु नोकरचाकरहरु दुब्लो, पातलो र घिनलाग्दो प्राणीजस्ता यी बादशाहलाई त्यस्तो उपद्रो गरिरहेको देख्थे, तब सुरुसुरुमा तिनीहरुलाई बडो अनौठो लाग्थ्यो र तिनीहरु बादशाहतिर हेर्नुको साटो भुइँतिर हेर्न थाल्थे । तर बिस्तारै बिस्तारै तिनीहरुलाई यस्तै कौतुहलपूर्ण दृश्यलाई हेर्ने बानी बस्न थाल्यो र तिनीहरु आफ्नो टाउको एकदम सीधा पारेर कुनै विशेष कुरा केही नभएझैँ गरी अघिल्तिर हेर्न थाले । अब तिनीहरुलाई यो कुरा हाँस्यास्पद लाग्दैनथ्यो । त्यसैले तिनीहरु बादशाहतिर यस्तरी हेर्थे, मानौँ बादशाहले आफ्ना सबै लुगाहरु लगाएकै छन् ।

भित्रीनी र दरबारका ती कारिन्दाहरुलाई त्यस्तो किसिमको देखावटी व्यवहार गर्नु एकदम जरुरी पनि थियो, किनभने त्यसो नगर्दा तिनीहरुले आफ्नो पदमात्र होइन, जीवनसमेत गुमाउनुपर्ने अवस्था आउन सक्थ्यो । तर यस्तो कोसिस र सावधानी अपनाउँदा अपनाउँदै पनि यदि एकपलमात्रै भए पनि तिनीहरु चुके भने त्यसले तिनीहरुलाई संकटमा पार्न सक्थ्यो । दुईजनालाई त्यस्तै संकट परेको थियो ।बादशाहको शाही भ्रमणको क्रममा एक हजारभन्दा पनि बढी मानिसहरुले आफ्नो ज्यान गुमाउनुपर्यो, किनभने नगरको सडकबाट बादशाहको सवारी चलिरहेको बेला थुप्रै मानिसहरुले उनलाई देखेर आफ्नो हाँसो थाम्न सकेका थिएनन् ।

बादशाहका एक बूढा मन्त्री सोच्थे, कुनै यस्तो उपाय गर्न सकियोस्, जसले गर्दा बादशाह फेरि लुगा लगाउन तयार होऊन् । त्यस्तो भएमा मानिसहरुले कुरा काट्ने र अट्टहास गर्ने काम स्वतः बन्द गर्नेछन् र त्यसपछि हत्याको यो सिलसिला पनि समाप्त हुनेछ । उनी सधैं यही चिन्तामा डुबिरहन्थे । बादशाहलाई फेरि लुगा लगाउन राजी गराउने कुन चाहिँ जुक्ति सबभन्दा बढी उपयोगी र सुरक्षित होला भनेर सोचविचार गर्दागर्दै उनले कयौँ रात नसुतेरै बिताए ।

अन्त्यमा बूढो मन्त्रीलाई एउटा उपाय सुझ्यो । अनि उनी बादशाहलाई भेट गर्न राजदरबार गए । उनले भने, ‘म तपाईंको एउटा बफादार सेवक हुँ । त्यसैले तपाईलाई एउटा सुझाव दिन चाहन्छु । र, के आशा गर्छु भने महाराजले मेरो सुझावमाथि अवश्य नै विचार गर्नुहुनेछ । महाराजलाई सधैं नै नयाँ नयाँ पोशाक लगाउने सोख रहेको छ । यो उचित पनि छ, किनभने नयाँ र शानदार पोशाकहरुले तपाईंको प्रतिष्ठा र गरिमाको वृद्धि गर्छन् । तर यता केही समयदेखि तपाईंले आफ्नो लागि कुनै तयाँ पोशाक बनाउन लगाउनुभएको छैन । तपाईं आफ्नो राजकाजको काममा यति व्यस्त रहनुभयो कि यसतर्फ तपाईंको ध्यानै गएन । यतिखेर तपाईं जुन पोशाक पहिरिनु भएको छ, त्यसको रंग अलिअलि खुइलिँदै जान थालेको छ । आफ्ना सुचीकारहरुलाई नयाँ पोशाक तयार गर्न तपाईं किन आदेश दिनुहुन्न ? त्यो नयाँ पोशाक पहिरिएर तपाईं केही नवीनता अनुभव गर्न सक्नुहोस् भन्ने मेरो शुभकामना छ ।’

‘के भन्यौ ? यो पोशाकको रंग उड्न थालेको छ रे ?’ बादशाहले आफ्नो पोशाकमा एकपटक हेरे र आफ्नो शरीरमा हातले सुमसुम्याएर भने, ‘तिमी बकवास गर्दैछौ । यो त चमत्कारी पोशाक हो । यसको रंग कहिल्यै खुइलिँदैन । यो पोशाकबाहेक म अर्को कुनै पोशाक कहिल्यै लाउँदिन भनेर मैले भनिसकेको छु । यो कुरा तिमीले सुनेका थिएनौ र ? यो पोशाक फुकालेर म कुरुप देखियुँ र भाग्यले मेरो साथ छोडोस् भन्ने तिमी चाहन्छौ होला । ल भैगो ! तिम्रो अहिलेसम्मको सेवा र वृद्धावस्थालाई विचार गरेर म तिमीलाई जल्लादहरुकहाँ त पुर्याउन्न, तर तिमीले आफ्नो बाँकी जीवन एउटा कैदीको रुपमा अवश्य नै जेलमा बिताउनुपर्नेछ ।’

त्यस वृद्ध मन्त्रीले त्यत्तिका सोचविचार गरेर जे–जति प्रयास गरेका थिए, त्यसको कुनै राम्रो नतिजा निक्लिएन । त्यसैले मानिसहरुलाई मृत्युदण्ड दिने सिलसिला पहिलेझैं जारी रह्यो । त्यतिमात्र नभएर मानिसले बादशाहको खिल्ली उडाउन बन्द नगरेकाले बादशाह झन् बढी रिसाउन थाले र उनले पहिलेको भन्दा कडा कानून बनाइदिए । उनले के फरमान जारी गराए भने उनी जहाँजहाँबाट हिँड्छन्, त्यहाँ मानिसहरुले कुनै पनि किसिमको हल्ला खल्ला नगरुन्, यदि कसैले मुखबाट एक शब्दमात्रै निकालेको सुनियो भने पनि त्यस अपराधको निमित्त उसलाई मृत्युदण्ड दिइनेछ ।

बादशाहद्वारा यस्तो नयाँ कानूनको घोषणा गरिएकोमा नगरका तमाम इमान्दार मानिसले बादशाह सीमाभन्दा निक्कै अगाडि बढेको अनुभव गरे । बादशाहको खिल्ली उडाउनु निःसन्देह उचित थिएन, तर मानिसले अरु नै विषयमा कुराकानी गरेछन् भने पनि उनीहरुलाई मृत्युदण्ड दिइने कुराको पनि आखिर के औचित्य छ र ? त्यसैले यस्तो सोच्ने जति सबै मानिसहरु बादशाहको महलमा पुगे र उनीहरुले घुँडा टेकेर बादशाहसँग गुनासो गर्न लागे । उनीहरुलाई देखेर बादशाह केही उद्विग्न भए र बाहिर निक्लेर उनीहरुलाई धम्क्याउँदै उनले भने, ‘तिमीहरु यहाँ किन आएका हौ ? के तिमीहरु विद्रोह गर्ने मनसायले आएका हौ ?’

ती इमानदार मानिसहरुलाई टाउको उठाउने साहस भएन । त्यसैले उनीहरुले छिटोछिटो जवाफ दिए, ‘होइन, होइन, महाराज ! हजूरले हाम्रो कुरा गलत बुझ्नुभयो । हाम्रो त्यस्तो केही इरादा छैन ।’ उनीहरुको कुरा सुनेर बादशाहको हंस ठाउँमा आयो । र, उनी आफ्नो कपडाको मुजा मिलाएझैं हाउभाउ देखाउन थाले, जुन कपडा उनले लगाएकै थिएनन् । तुरुन्तै फेरि उनको मुद्रा केही कठोर भयो र उनी अझ बढी धाक देखाउँदै बडो गजक्क परेर भन्न थाले, ‘त्यसो भए तिमीहरु यहाँ किन आएका हौ त ?’

‘हामी कुराकानी गर्ने र हाँस्ने हाम्रो स्वतन्त्रता फिर्ता गरियोस् भन्ने फिराद लिएर महाराजसमक्ष बिन्ती गर्न आएको हौँ । हजूरका बारेमा जथाभावी बोल्ने या खिल्ली उडाउने जति पनि मानिसहरु छन्, तिनीहरु वास्तवमा खराब हुन्, तसर्थ तिनीहरुको प्राण लिनै पर्दछ । तर हामीहरु त सबै राम्रा र इमान्दार नागरिकहरु हौँ । त्यसैले हजूरले आफ्नो नयाँ कानून फिर्ता लिइदिन बिन्ती गर्न आएका हौँ ।’

‘तिमीहरुलाई कसरी स्वतन्त्रता चाहन्छौ भने मेरा प्रजाका रुपमा रहने अधिकार कसरी पाउन सक्छौ ? यदि तिमीहरु मेरा प्रजाका रुपमा रहन चाहन्छौ भने तिमीहरुले मेरो कानूनको पालना त गर्नैपर्छ । र, मेरो कानून निकै कडा छ । त्यस्तो कानूनलाई खारेज गर्ने त प्रश्नै आउँदैन ।’

यसो भनेर बादशाह आफ्नो महलभित्र फर्केर गए ।त्यहाँ रहेका इमान्दार नागरिकहरुलाई अब थप कुरा भन्ने साहस भएन । त्यहाँ रहेकामध्ये केही मानिसले बिस्तारैबिस्तारै आफ्नौ शिर अलिकति माथि उठाएर हेरे । बादशाह यहाँबाट गइसकेका छन् भन्ने थाहा पाएर उनीहरुले के बुझे भने घरतिर फर्किनुबाहेक आफ्नो अगाडि अब अर्को कुनै विकल्प छैन ।

केही दिन बितेपछि उनीहरुले एउटा नयाँ जुक्ति अपनाए । त्यसअनुसार, जब बादशाह सडकमा निस्कन्थे, जब उनीहरु आफ्नो घरभित्र जान्थे र ढोका बन्द गर्थे । अब उनीहरु घरबाट बाहिर निक्लिएर सडकमा आउन हिच्किचाउन थालेका थिए ।

एक दिन बादशाह आफ्ना मन्त्रीहरु र अंगरक्षकहरुलाई साथ लगाएर महलबाट आफ्नो गढीतिर हिँडे । बादशाहको सवारी चलिरहेको बेला जहाँजहाँ बादशाह पुगे, त्यहाँत्यहाँ नगरका सडकहरु एकदम सुनसान थिए । सडकको दायाँ–बायाँका घरमा झ्याल ढोकाहरु सबै बन्द भएका थिए । सवारीको ताँती रातीराती हिँड्ने सेनाको टुकडीजस्तो चूपचाप हिँडिरहेको थियो । त्यसबेला हिँड्दाखेरी भुइँमा पर्ने पाइलाको आवाजसिवाय अरु केही सुनिँदैनथ्यो । हिँड्दाहिँड्दै बादशाह अचानक अडिए र उनको कान ठाडो भयो । र, गर्जिंदै उनले आफ्ना मन्त्रीहरुलाई सोधे, ‘तिमीहरुले यो आवाज सुन्यौ ?’
मन्त्रीहरुले कान ठाडो पारेर त्यस आवाजलाई सुन्ने कोसिस गर्न लागे ।

‘हजुर, हामीले सुन्यौँ, सायद कुनै बच्चा रोएको आवाज हो ।’ एउटा मन्त्रीले जवाफ दियो ।
‘कुनै आइमाईले गीत गाएकी हो कि जस्तो पनि छ !’ अर्को मन्त्रीले अनुमान लगायो ।
‘सायद कुनै मानिस रक्सीले फिटान भएर भुत्भुताइरहेको होला ।’ तेस्रो मन्त्रीले भन्यो ।

बादशाहलाई लाग्यो, उनका मन्त्रीहरु उनको कुरालाई हल्काफुल्का ढंगले लिएर उडाउँदैछन् । त्यसैले उनले एकदम रिसाएर चिच्याउँदै भने, ‘मैले बनाएको नयाँ कानूनलाई तिमीहरुले बिर्सियौ कि क्या हो ?’ मन्त्रीहरुले आफ्नो आज्ञाकारिताको परिचय दिँदै अंगरक्षकहरुलाई आदेश दिए, ‘सबै बन्द ढोकाहरुलाई फोडेर घरभित्र जाओ र जोसुकैले चुँसम्म गरेर आवाज निकालेका भए पनि समात र तिनीहरुलाई प्राणदण्ड दिनका लागि जल्लादहरुलाई सुम्पिदेओ, चाहे तिनीहरु आइमाई हुन्, या पुरुष, जवान होऊन् या बृद्ध ।’

ठीक त्यसैबेला एउटा अप्रत्याशित कुरा देखियो । अंगरक्षकहरुले घरको ढोका फोडेर जबरजस्ती भित्र पस्ने बित्तिकै ती घरका पुरुषहरु, महिलाहरु र केटाकेटीहरुको भीड कराउँदै बाहिर निक्लियो । ती मानिसहरु हुरिएर बादशाहको नजिक पुगे । उनीहरुले बादशाहलाई बेस्सरी अँठ्याए । त्यति मात्र होइन, उनीहरुले आफ्ना हत्केलाले बादशाहको शरीरलाई कोपर्दै र थिचोर्दै चिच्याएर भने, ‘यसको अदृष्य लुगालाई च्यातिदेओ । यसको जिउबाट त्यो लुगा फुकालेर फालिदेऊ !’

यसपछिको दृष्य त झन् बढो हाँस्यास्पद र कोलाहलपूर्ण थियो । पुरुषहरु बादशाहका सुकेका र झिना पाखुरा बटारिरहेका थिए भने महिलाहरु उनका कैला रौँहरु भएको ध्याँसे छातीमा आफ्ना नरम औँलाहरु चलाएर उनलाई सताइरहेका थिए । दुईवटा बच्चाहरु पनि भीडको बीचबाट ठेलमठेल गर्दै उनीकहाँ आइपुगे र तिनले आफ्ना स–साना हातहरु उचालेर उनको काखीका रौँहरु भुत्ल्याउन थाले । यस प्रकारले बादशाहलाई सबैतिरबाट घेरियो र उनले त्यसबाट भाग्ने कुनै बाटो पाएनन् । अनि उनले आफ्नो शीर झुकाए ।

त्यसपछि एउटा डुम्सीले जस्तै आफ्नो शरीरलाई लुकाएर भीडको ताडनाबाट जोगिने प्रयास गर्न थाले । तर उनी जोगिन सकेनन् । आफ्ना दुबै काखीका रौँहरु उखेल्ने र कुटकुटी लगाउने गरिनाले बादशाहलाई खपिनसक्नु पीडा र छट्पटि भइरहेको थियो । त्यसैले उनले आफ्ना दुबै हातहरु जिऊमा राम्ररी टाँसिने गरी बेस्सरी च्यापे । तैपनि उनले यो समस्याबाट छुट्कारा पाउन सकेनन् । दुबै काँधको बीचमा आफ्नो टाउकोलाई खुम्च्याएर नाक–मुख खुम्च्याउँदै दयनीय अनुहारमा बिलौना गर्नु शिवाय उनले अरु केही पनि गर्न सकेनन् । उता मानिसहरुको उन्मादी लहड सकिने कुनै छाँट देखिन्नथ्यो ।

मानिसहरुका घरहरुबाट निक्लिएर भर्खरै मात्र बाहिर आइरहेका बादशाहका अंगरक्षकहरुले बादशाहको हुलिया विच्छिको डसाइबाट आहत र त्रस्त बाँदरको जस्तो निकै हाँस्यास्पद देखे । बादशाहलाई यस रुपमा देखेर उनीहरुले उनीप्रति सम्मान प्रकट गर्न बिर्सिए । अनि आम मानिसहरुले जस्तै उनीहरु पनि खिड्का छोडेर हाँस्न थाले । ती अंगरक्षकहरुलाई त्यसरी खित्का छाडेर हाँसेको देखेर बादशाहका मन्त्रीहरु पहिले त भयभीत भए, तर पछि जब तिनीहरुले खुसुक्क बादशाहतिर हेरे, तब तिनीहरु स्वयं पनि मज्जाले हाँस्न पुगे ।

यस्तो लाग्थ्यो, ती अंगरक्षक र मन्त्रीहरुलाई हाँस्ने रोगले बेस्सरी समातेको छ । तिनै मन्त्री र अंगरक्षक र मन्त्रीहरु नै बादशाहको खिल्ली उडाइरहेका थिए । तिनीहरुले फेरि एकपटक बादशाहतिर हेरे । मानिसहरुले कोपर्ने चिथोर्ने र चट्काउने गर्नाले बादशाहको शरीरमा जहीँतहीँ घाऊ र कालानीला दागहरु बनेका थिए । बादशाह पोको परेर बसेका थिए । यस्तो लाग्थ्यो कुनै मुरा पानीले रुझेर कुनै कुनामा असाहय बसिरहेको छ । निकै हाँस्यास्पद दृश्य थियो । कुनै पनि हाँस्यास्पद दृश्यलाई देखेपछि मानिसहरुले हाँस्नु स्वभाविक नै हो । तर बादशाहले एउटा कानून बनाएर मानिसहरुलाई हाँस्न प्रतिबन्ध लगाइदिएका थिए । कति मूर्खतापूर्ण कुरा ! यसैले उनका मन्त्री र अंगरक्षक पनि अरु मानिसहरुसँगसँगै ठूल्ठूलो स्वरले कराउँदै बादशाहसँग माग गर्न लागे, ‘आफ्नो अदृश्य पोशाकलाई फुकाल ! त्यसलाई आफ्नो शरीरबाट अलग्याउ ।’

जब बादशाहले आफ्ना मन्त्री र अंगरक्षकहरु पनि जनसमूहको पक्षमा गएका देखे र तिनीहरु आफूसँग डराउन छाडे भन्ने बुझे, तब उनलाई यति गहिरो चोट पर्यो कि उनी बेहोस् भएर जमीनमा यसरी पछारिए, मानौँ कसैले निक्कै ठूलो हठौडाले उनको टाउकोमा बजाइदिएको होस् ! मूल स्रोत – ये शङ–थाओ का बालकथा

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार १०:२१