१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

उपकुलपति प्रकरणः पूर्वस्वीकृति लिने र निमित्त दिने दुबै नगरी विदेशीदै थिए कोइराला (नियमसहित)

–पवित्रा मुडभरी 

२४ असार, काठमाडौँ । संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइराला यतिखेर सरकारविरुद्ध गाली गर्न रहर गर्नेको मसला बनेका छन । विश्वविद्यालयको नियमले गरेको व्यवस्थालाई समेत ठाडै चुनौति दिँदै कोइराला विश्वविद्यालयको कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा शक्तिखर्च गरिरहेका छन ।

विदेश भ्रमणमा जानुअघि उपकुलपति र सेवा आयोगको अध्यक्षले कुलपति समेत रहेका प्रधानमन्त्रीसँग अनिवार्य पूर्वस्वीकृति लिनुपर्छ तर कोइराला त्यो प्रक्रिया पूरा नै नगरी सिस्टममाथि चुनौति सिर्जना गर्न खोज्दा क्यानडामा हुने एउटा सम्मेलनमा जानबाट रोकिए । सरकारले पछिल्लो पटक सुशासनको स्थापनाका लागि अराजकता र सिण्डिकेटका विरुद्धमा जुन कदम चालिरहेको छ त्यसैको एउटा रुप थियो कोइरालाको अराजक गतिबिधिको नियन्त्रण । उनी एउटा पदमा बसेका व्यक्ति हुन जसले अरुलाई नियमको पालना गराउन पनि आफूले नियम मान्नु पर्ने बाध्यात्मक अवस्थामा छन । तर उनी संस्कृत विश्वविद्यालयको नियमलाई सिधै चुनौति दिइरहेका छन ।

नियममा भएको व्यवस्था ।

नियममा स्पष्ट रुपमा उल्लेख भएको उक्त प्रावधान कुलप्रसाद कोइरालामात्रै हैन अरु कोही उपकुलपति भए पनि मान्नुपर्छ । विश्विवद्यालयको अार्थिक प्रशासन सम्बन्धी नियमको दफा ८४ को उपदफा ४ ज मा स्पष्ट रूपमा उपकुलपति र सेवा अायोगको अध्यक्षले अनिवार्य कुलपतिबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ । जुन उपकुलपति कोइरालाले मान्न अस्वीकार गरिरहेका छन । तसर्थ उपकुलपति हुन्न भन्न पाइन्छ तर उपकुलपतिको पदमा बसेर नियम उलंघन गर्नु त्यो अपराध हो जुन कुलप्रसाद कोइरालाले गरेका छन । उनले विभिन्न सञ्चार माध्यम मार्फत आफ्ना भनाइ राख्नेक्रममा नियम अनुसार नै कार्यकारी परिषद्बाट निर्णय गराएर सहकुलपति (शिक्षामन्त्री) लाई जानकारी गराएको बताइरहेका छन ।

तर नियममा विदेश भ्रमणमा जानुअघि सहकुलपति हैन कुलपतिबाटै पूर्वस्वीकृति गराउनुपर्ने व्यवस्था रहेको छ । उनले भने अनुसार शिक्षामन्त्री अर्थात सहकुलपतिलाई दिएको निवेदन पनि स्वीकृत भएको थिएन । तर उनी सात सदस्यी टोलीको नेतृत्व गरेर क्यानडा जान हतारिए जसका कारण उनी विमानस्थलबाटै प्रहरीको फन्दा परी फर्कनु पर्यो । अनुशासन नैतिकताको पाठ पठाउने संस्कृति विश्वविद्यायका उपकुलपतिकै हालत यस्तो हुनु लज्जाको विषय हो ।

यता कोइरालाले विश्विविद्यालयको दैनिक कार्यसम्पादन गर्नका लागि आफ्नो अनुपस्थितिमा शिक्षा अध्यक्षलाई निमित्त तोक्नु पर्नेमा त्यो पनि नगरेको स्पष्ट भएको छ । कोइरालाले नेपाली कांग्रेसको नेताको शैलीमा प्रचारबाजी सुरु गरेपछि हामीले विश्वविद्यालयका शिक्षा अध्यक्ष रमेशप्रसाद ढकाललाई सोधेका थियौँ तपाईले निमित्त पाउनु भएको छ ? हाम्रो प्रश्नमा उनको जवाफ यस्तो थियो ‘मलाई आज यतिखेरसम्म कसैले निमित्तिको जानकारी दिएको छैन, उहाँको भ्रमणको विषयमा समेत विश्वविद्यालयभित्र छलफल भएको छैन । उहाँले अहिलेमात्रै होइन धेरै समयअघिदेखि स्वच्छेचारिता देखाइरहनुभएको छ । नियमविपरित राजनीतिक कार्यकर्ता भर्तिगर्नेदेखि नियम नमान्नेमा उहाँ धेरै अघि पुगिसक्नु भएको छ ।’

कोइरालाले विदेश भ्रमणमा जाने विषयमा मात्रै होइन अन्य धेरै विषयमा नियम उलंघन गरेर काम गरिरहेको स्पष्ट भएको छ । कोइरालाको हेपाहा र अराजक प्रवृतिलाई प्रहरीले विमानस्थलबाट विदेश जान नदिई फर्कार पदीय मर्यादा र अनुशसान सबैले पालना गर्नुपर्छ भन्ने सन्देश समेत दिएको छ ।

 

प्रकाशित मिति : २४ असार २०७५, आईतवार १४:३९