१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

गोविन्द केसीका माग नाजायजः प्रधानमन्त्री ओली

२३  असार, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकाश र समृद्धिका लागि जगबाटै सुधार गर्नु पर्ने बताउनुभएको छ । प्रदेश नं २ का साँसदहरुसँग आज बालुवाटारमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनभएको हो । प्रदेश नं २ का नेकपाका साँसदहरुले त्यहाँको विकास,समृद्धि,शिक्षा,स्वास्थ्य,सामाजिक सुधार आदि जस्ता क्षेत्रमा उठाएका समस्याको बारेमा आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीले प्रदेश नं २ को स्वरुप फेर्नका लागि यहाँका साँसदहरु नै लाग्नु पर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले महिला हिंसा भएका ठाउँमा जनप्रतिनिधीहरुले मिलापत्र गराउन खोज्नु बेठिक भएको बताउनुभएको छ । “यस किसिमका हिंसा मिलापत्रमा टुंगिदैनन् । यस्तो मुद्धामा मिलापत्र गराउन खोज्नेलाई पनि कारबाही हुन्छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले तराइमा व्यापक सामाजिक जागरण अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका बारेमा साँसदहरुले उठाएको प्रश्नमा प्रधानमन्त्री ओलीले यसका बिषयमा विस्तृतमा बुझ्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले प्रदेश नं २ मा आँप,लिची,उखुसँग सम्बन्धित उद्योगहरु खोल्नु पर्ने बताउनुभएको छ । अर्को एक प्रसंगमा शक्ति पृथकिकरणको सिद्धान्त अनुसार सबै अंग जिम्मेवार हुन् पर्ने र आफनो— आफ्नो क्षेत्राधिकारमा सिमित हुनुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले गोविन्द केसीको माग जायज नभएको स्पष्ट पार्नुभएको छ । “गोविन्द केसीले उठाएका माग जायज छैनन्” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

 

प्रकाशित मिति : २३ असार २०७५, शनिबार २०:१३