१६ भाद्र २०८२, सोमबार | Mon Sep 1 2025

माधव नेपाल पक्षधरहरु प्रतिक्रियावादी शक्तिको मतियार बनेः प्रधानमन्त्री ओली

८ जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षधरहरु प्रतिक्रियावादी शक्तिको मतियार भएर निर्लज्जतापूर्वक कम्युनिष्ट आन्दोलनको विरुद्धमा लागेको बताउनुभएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा स्व. बुद्धिबहादुर रायमाझिद्वारा लिखित पुस्तक ‘पञ्चायती जेलमा तेह्र वर्ष’ विमोचनमा बोल्दै प्रधानमन्त्री ओलीले माधव नेपाल पक्षधरलाई लक्षित गर्दै नेपालमा फिजिएको उज्यालो निभाउने प्रतिक्रियावादी शक्तिहरुको मतियार भएर निर्लज्जतापूर्वक कम्युनिष्ट आन्दोलनका विरुद्धमा लागको बताउनुभएको हो । उहाँले कम्युनिष्ट आन्दोलकाविरुद्ध इतिहासमा कहिँ नदेखिएको अनुशासनहिनता र अराजकता देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘आजपनि हामी देख्न सक्छौँ, आन्दोलनकाविरुद्ध, इतिहासमा कहीँ नदेखिएको अत्यन्तै भद्दा, नग्न, विभत्स, कुरुपताको हद पनि विभत्स, अनुशासनहिनताको, अराजकताको, र विपक्षीसँग मिलेर, विरोधीहरुसँग मिलेर, नेपालमा छरिएको, नेपालभरी फिजिँएको उज्यालोलाई निभाउने देशी, विदेशी जनविरोधी, प्रतिक्रियावादी शक्तिहरु जुन छन्, तिनीहरुको मतियार भएर, तिनीहरुको सेवक भएर निर्लज्जतापूर्वक अहिलेपनि आन्दोलनका विरुद्धमा लाग्ने तत्वहरु देखिएका छन् ।’

प्रधानमन्त्री ओलीले प्रतिकुल अन्तर्राष्ट्रिय परिस्थितिका विच उचाईमा पु¥याइएको कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्ने प्रयासस्वरुप पार्टी फुटाईएको आरोप पनि लगाउनुभयो । अदालतको फैसला अगावै पार्टी फुटाएर पार्टी फुटको दोष अदालतलाई लगाइएको उहाँले बताउनुभयो ।

नेता पतित भएर बिकेपछि आन्दोलनलाई सिध्याउन उद्यत्त हुने पनि उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘आज इमान छोड्नु, अहंकारी हुनु, अहंकारका पछि कुद्नु, म भन्ने भावना, यस भावनाबाट आक्रान्त बिमारी हुनु यो कुराले आज नेपालको यति माथि पु¥याइएको, यस्तो प्रतिकुल अन्तर्राष्ट्रिय परिस्थितिमा यति माथि पु¥याईएको आन्दोलन, लगभग दुई तिहाईको स्थितिमा पु¥याइएको, एकिकृत बनाइएको आन्दोलन त्यसलाई ध्वस्त पार्ने प्रयास भइरहेको छ ।

त्यसलाई फुटाइयो । अदालतलाई अब्जस लगाईयो । अदालतको फैसला अगाडी पार्टी फुटाइसक्या थियो । तर अदालतलाई अब्जस लगाइयो । अहंकारमा कुदेर आन्दोलनलाई ध्वस्त पार्दिन्छु, समाप्त पार्दिन्छु, कब्जा गर्दिन्छु भन्दै प्रतिक्रियावादी शक्तिहरुका पाउँमा आन्दोलनलाई चढाउने । त्यसको लक्षण त हामीले हिजो मात्रै पनि देख्यौँ ।

जुन दलसँग प्रतिस्पर्धा गरियो, त्यही दलको आफ्नो दलको सरकार गिराएर जो सँग प्रतिस्पर्धा गरियो र गर्नुछ फेरीपनि उही दलको नेतालाई प्रधानमन्त्री बनाएर । अनुशासन तोडेर पार्टी निर्णय गरिरहनुपर्दैन त्यस्ता कुरा ? यसैपनि यो बुझेको कुरा हो सामान्य कार्यकर्ताले बुझेको कुरामा नेताले बुझ्दैनन् भन्ने होईन । तर जब नेता बिक्छन् । जब नेता पतित हुन्छन् । तब आन्दोलनलाई सिध्याउन उद्यत्त हुन्छन् ।’

उहाँले नेपाली कांग्रेसले शनिबार निकालेको प्रेस विज्ञप्तिमा राष्ट्रपतिलाई तिमी भन्ने शब्द प्रयोग गरेको भन्दै असन्तुष्टि जनाउनुभयो । नेपाली कांग्रेसको सभापतिको स्तरबाट त्यस्तो भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियानको गहिराई कति छ भन्ने स्पष्ट भएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार १८:०२