१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सातै प्रदेशका प्रदेश प्रमुखको पनि जागिर चट ! एक साताभित्रै राष्ट्रपतिले पदमुक्त गर्ने

२१ असार, काठमाडौँ । सातै प्रदेशका प्रदेश प्रमुखहरुको जागिर पनि चट हुने भएको छ । सरकारले शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा नियुक्ति पाएका सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने तयारी गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकमा यस विषयमा छलफल भए पनि निर्णय भएको थिएन ।

मन्त्रिपरिषद्को अर्को बैठकले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने कानुनमन्त्री शेरबहादुर तमाङले दैनिकीलाई जानकारी दिए । उनले सरकारले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्न पनि सँगै सिफारिस गर्ने बताए । तत्कालीन सरकारले प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

नियुक्त गरिएका प्रदेश २ का कायस्थ र प्रदेश ५ का झाबाहेक बाँकी सबै कांग्रेस निकट हुन् । संविधानको धारा १६३ को ३ मा राष्ट्रपतिले पदावधि समाप्त हुनुभन्दा अगावै निजलाई पदमुक्त गर्न सक्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २१ असार २०७५, बिहीबार १४:११