१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

-त्रिलोचन ढकाल

एकहुल महिलाहरू उकालो चढिरहेका थिए । सबै, गच्छे अनुसारका गहना कपडा मा सजिएका भेटिन्थे । झोला सबैका साथी भएर पीठमा टाँसिएका देखिन्थे । टाढाबाट हेर्दा बच्चाबच्ची बोके जस्तो देखिएको थियो । त्यहाँ बाहुन मात्र थिएनन् ‌। क्षेत्री, गुरुङ्, मगर, विश्वकर्मा, परियार लगाएत बस्ती बासी सबैका छोरीहरू संलग्न थिए । बस्ती प्रवेश गर्ने ढोकैमा चौपारी थियो । त्यहाँ बसिरहेका पण्डितले नचिन्ने कुरै भएन । उनले सोधे_.

“कता हिँडेउ चेलीहरू ?

“माइत हिँडेको पण्डित बाजे ।”

सबै चेलीहरूले एकै आवाजमा जवाफ दिए ।

“यतिबेला तिज होइन । दसैं पनि आएको छैन । तिहार पनि धेरै पछि छ ‌। बस्ती भरिका छोरीहरूको यति लामो लर्को किन लाग्यो आज ?”

“पण्डित पनि ! यति पनि थाहा छैन ? आज आमाको मुख हेर्ने दिन हो । दाजु भाईहरू आमाको घरमै पर्खिरहेका छन् । हामी पुगेपछि सँगसँगै आमाको मुख हेर्ने छौं ।”

एउटीले सरल तरिकाले जवाफ दिइन् ।

लेखक ढकाल ।

“मुख हेर्ने ? मुख हेरेर के हुन्छ ? आमाहरूले सकुञ्जेल काम गरेर खान्छन् । असक्त भएपछि छोराहरूले पालन, पोषण र स्याहार सम्भार गर्छन् । मरेपछि छोराहरूले नै पिण्ड तर्पण गर्छन् । छोरीहरूको कुनै काम छैन ।”

पण्डितको कुरा सुनेपछि दिदी बहिनीहरूको रिसको पारो चढ्नु स्वाभाविक थियो । उनीहरू चौतारीका वरिपरि उभिए । पण्डितलाई घेराबन्दी गरे । एउटी अगाडि बढेर आइन् र भनिन_

“आफुलाई जन्म दिएका, स्याहार सम्भार गरेर हुर्काएका र शिक्षाद्वारा विद्वान बनाएका बा आमालाई छोरीहरूले निस्वार्थ रूपले पालन पोषण गर्छौं । जहाँसम्म पिण्ड तर्पणको कुरा हो त्यो पितृहरूले पाए खाएको कसैले पनि देखेको छैन । त्यसको नाममा पण्डितहरूको जागिर चलेको भने देखिएको छ ।”

यो सुनेपछि पण्डित रन्थनिए । रिसले आफ्नै टाउको फुटाल्छन् कि जस्ता देखिए । केहीबेर बोल्नै सकेनन् । धेरै समयपछि अोठ कमाउँदै बोले_

“पाप ! महाँ पाप !! धर्म छाडाहरूको बोझ कसरी थामेकी छौ धर्ती माता !!!??”

पण्डितको प्रलाप सुनेपछि छोरीहरू न बोल्ने कुरै भएन_

“आमाको पूजा गर्ने काम पनि पाप हुन्छ ? तपाईंको धर्मशास्त्र भित्र छ पाप । त्यसभित्र विदेस भक्ति छ । शोषण छ । सामाजिक विभेद छ । लोकतन्त्र विरोधी प्रावधानहरू छन् । अन्धविश्वास छ । अव्यवहारिक कुराको भारी छ । तिनलाई हटाउनुहोस् त !!! हामी त्यही धर्मका अनुयायीहरू हौँ ।”

आनन्दआश्रम, स्याङ्जा
०७८.१.२८ मातातिर्थ औँसी

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलवार २०:३१