१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

मध्य भोटेकोशीको आईपीओ आजबाट बिक्री खुल्ला, कसले दिन पाँउछन आवेदन?

२१ वैशाख, काठमाडाैँ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले पहिलो चरणमा प्रतिसेयर १०० अंकित दरका कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । जसमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको छ भने बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई छुट्याइएको छ ।

कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको निष्कासन गर्न लागेको हो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्कासन गर्नेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनपर्नेछ भने अधिकतममा ४०० कित्ताका लागि आवेदन दिन पाउनेछन्। पहिलो चरणको उक्त आईपीओमा लगानीकर्ताहरुले छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ।

केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ। लगानीकर्ताहरुले यस आईपीओमा ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एसिया बैंकका सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

 

 

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलवार १०:५४