२४ पुष २०८१, बुधबार | Wed Jan 8 2025

जनावर पत्ता लगाउन काटेको मासु परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाइयो

१६ वैशाख, रसुवा । लाङ्टाङ राष्ट्रिय निकुञ्जको जङ्गल क्षेत्रबाट नियन्त्रणमा लिइएको मासु परीक्षणका लागि काठमाडौँस्थित विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।

गोसाइँकुण्ड गाउँपालिका–२ स्थित टिमुरे तातोपानी क्षेत्रमा जनावर काटेर भाग लगाइराखेको अवस्थामा निकुञ्ज सुरक्षार्थ खटिएको गस्ती टोलीले मासु बरामद गरेको थियो । त्यो मासु कुन जनावरको हो भन्ने यकिन गराई कानूनी दायरामा लैजान पहिलो चरणअन्तर्गत प्रमाणीकरण प्रक्रिया अगाडि बढाइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताउनुभयो ।

बरामद गरिएको मासुको परिमाण करिब सात केजी रहेको र मासु भाग लगाउने कार्यमा संलग्न चार व्यक्तिलाई नियन्त्रणमा लिइएको निकुञ्जले जनाएको छ । परीक्षणका लागि उक्त मासु बुधबारनै काठमाडौँ पठाएको बताइएको छ ।

परीक्षणबिना मासु कुन जनावरको हो भन्ने कुरा यकिन गर्न नसकिने र अनुसन्धानको प्रतिवेदन पेश नभएसम्म पक्राउ परेका व्यक्तिको नामसमेत उल्लेख गर्न नमिल्ने प्रमुख संरक्षण अधिकृत रानाले बताउनुभयो ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार १०:०५