पर्सामा १६ करोड बढीको गहुँ उत्पादन
११ वैशाख, पर्सा । पर्सामा यस वर्ष गहुँ उत्पादनमा वृद्धि भएको छ । जिल्लाको कूल खेतीयोग्य जग्गामध्ये २६ हजार ५०० हेक्टर क्षेत्रफलमा गहुँबाली लगाइएकामा प्रतिहेक्टर तीन दशमलब ३ मेट्रिकटनका दरले ८५ हजार ९६५ मेट्रिकटन गहँु उत्पादन भएकोे कृषि ज्ञान केन्द्र वीरगञ्जले जनाएको छ ।
केन्द्रका अघिल्लो वर्षको तुलनामा यसवर्ष जिल्लामा रु १६ करोड २० लाख ८३ हजार १०० मूल्य बराबरको पाँच हजार २१० मेट्रिकटन बढी गहंँु उत्पादन भएको छ । किसानहरुले गहँुखेती गर्दा उन्नत जातको बीउ प्रयोग गरेको, समयमै सिँचाइ सुविधा उपलब्ध भएको र समयमै मल खाद्य उपलब्ध भएकाले गत वर्षभन्दा यसवर्ष पाँच हजार २१० मेट्रिकटन बढी गहँु उत्पादन भएको बाली विकास अधिकृत सुरेशकुमार चौरसियाले राससलाई बताउनुभयो ।
अघिल्लो आर्थिक वर्षमा जिल्लाका किसानले २६ हजार हेक्टर क्षेत्रफलमा गहँुखेती गरेकोमा ८० हजार ६०० मेट्रिकटन गहँु उत्पादन गरेको थियो । सो आर्थिक वर्षमा प्रति हेक्टर तीन दशमलव एक मेट्रिकटनले गहँु उत्पादन भएको थियो । धानखेती भन्दा बढी आम्दानी गहँुखेती गरेर लिने गरेकाले पर्सामा ८५ प्रतिशत किसान गहँुखेतीमा संलग्न भई आर्थिक लाभ लिन थालेका छन् ।
जिल्लामा यसवर्ष किसानले विजय, एनएल ९७१ र श्रीराम ३०३ जस्ता उन्नत जातका गहँुबाली गरेका छन् । उनीहरुले उत्पादन गरेका गहुँमध्ये ५० प्रतिशत विक्री गर्ने गरेको र बाँकी वर्षभरी आफैँ खानको लागि राख्ने गरेको बताइएको छ । जिल्लाका किसानले यसवर्ष दलहन बालीतर्फ तीन हजार ६१० हेक्टरमा मसुरो खेती गरी पाँच हजार ७७६ मेट्रिकटन उत्पादन गरेको छ भने ९० हेक्टर क्षेत्रफलमा खेसारीको खेतीगरी १६२ मेट्रिकटन उत्पादन गरेको छ ।
यसैगरी पाँच हेक्टर क्षेत्रफलमा गरिएको राजमा १४ मेट्रिकटन उत्पादन भएको छ भने १५ हेक्टर क्षेत्रफलमा गरिएको रहरखेतीबाट १५ मेट्रिकटन उत्पादन भएको केन्द्रले जनाएको छ । किसानले उत्पादन गरेको गहुँ सङ्घीय सरकारले प्रति क्वीन्टल तीन हजार १११ समर्थन मूल्यमा खरिद गर्न थालेपछि यहाँका किसान आर्थिक लाभ लिन थालेका छन् ।
प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार ०६:२७