कांग्रेसले अबरोध गर्ने चेतावनी दिएपछि संसद बैठक सूचना टाँस गरी स्थगित
१७ असार, काठमाडौँ । नेपाली कांग्रेसले संसद अबरोध गर्ने चेतावनी दिएपछि संसदको आइतबारको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । सरकारले ल्याउन लागेको चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयकमा कांग्रेसले असहमति जनाएको छ ।
उसले मनमोहन मेमोरियल शिक्षण अस्पतालको सम्बन्ध रोक्नका निम्ति गोविन्द केसीको अनसनलाई हतियार बनाउँदै आएको छ । आइतबार बिधेयकमा सहमति नजुटेपछि प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको हो ।
आइतबार दिउँसो प्रतिनिधिसभाको बैठकमा शून्य र विशेष समय लिएर सांसदहरुले बोल्ने क्रम सकिएलगत्तै सभामुख कृष्णबहादुर महराले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए । तर चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयकमा नेपाली कांग्रेसले असहमति जनाएपछि बैठक सूचना टाँसेर स्थगित भएको हो । आइतबारको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ पेश गर्ने मूल कार्यसूची रहेको थियो ।
प्रकाशित मिति : १७ असार २०७५, आईतवार १४:५६