२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

अनसनमा रहेका केसीले बोल्न सकेनन्, अस्पताल बाहिर अनसन बस्दा केसीलार्इ खतरा

१७ असार, जुम्ला । जुम्लामा जिल्ला खेलकुद विकास समितिको खुला कवडहलमा अनसनमा रहेका डा गोविन्द केसीको स्वास्थ्य कमजोर बनेको चिकित्सकले बताएका छन । केसी कम बोल्ने भएका छन । डाक्टर केसीको मासु फर्किने, ढाड दुख्ने, रिंगटा लाग्ने समस्या सुरु भएको उपचारमा खटिएका चिकित्स धिरज गुरुङले बताएका छन ।

अनसन स्थल पनि स्वास्थ्यको दृष्टिकोणले ठीक नभएको उनले बताएका छन् । अनसनस्थल सिमेन्टको कोठा, बत्तिविहीन तथा आवश्यक उपचारका पूर्वाधारहरु नभएकाले समस्या हुने उनले बताएका छन् ।

स्वास्थ्य क्षेत्रका विभिन्न मागसहित आफ्नो १५ औँ अनसन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला रोजेका डाक्टर केसी असार १५ गते जुम्ला आउने वित्तिकै स्थानीय प्रशासनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई अनसन निषेधित क्षेत्र घोषणा गरेको थियो ।

प्रतिष्ठानमा अनसन रोक लगाएपछि जिल्ला प्रशासन कार्यालय अगाडि पुगेका केसीलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा पुर्याएका केसीले प्रहरी कार्यालयबाटै अनसनको घोषणा गरेपछि प्रहरीले तत्काल रिहा गरी जिल्ला खेलकुद विकास समितिको हलमा पुर्याएको थियो ।

अस्पतालमा रोक लगाइएपछि कवर्डहलमा उहाँका अवस्था खराब हुने भएकाले अनसनस्थल अस्पताल नै हुनुपर्ने उनका समर्थकले बताएका छन । केसीको उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डा प्रविण गिरी, डा धिरज गुरुङ, डा सिद्धार्थ खत्रीसहितको चिकित्सको टोली खटिएको छ ।

प्रकाशित मिति : १७ असार २०७५, आईतवार १०:१४