चिकित्सा शिक्षा विधेयक आज संसदमा प्रस्तुत हुँदै, प्रधानमन्त्रीको नेतृत्वमा चिकित्सा शिक्षा आयोग बन्ने
१७, असार, काठमाडौँ । प्रधानमन्त्रीको अध्यक्षतामा शिक्षा र स्वास्थ्यमन्त्री सहअध्यक्ष रहने गरी १७ सदस्यीय शक्तिशाली चिकित्सा शिक्षा आयोग गठन हुने भएको छ । सरकारले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक शुक्रबार संसद सचिवालयमा दर्ता गरेको छ, जसमा १७ सदस्यीय आयोगको प्रस्ताव गरिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए ।
उनले केदारभक्त माथेमा कार्यदलको परिकल्पना अनुसार ऐन बन्न लागेको बताए । आयोगले चिकित्सा शिक्षा क्षेत्रका विकृति र विसंगती हटाउन सहयोग पुग्ने उनले बताए । कात्तिकमा राष्ट्रपतिले जारी गरेको चिकित्सा शिक्षा अध्यादेशलाई प्रतिस्थापन गर्ने गरी विधेयक ल्याउन लागिएको छ ।
उक्त विधेयक आज शिक्षामन्त्री पोखरेलले संसदमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गर्ने राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रिपतिले प्रमाणित गरेपछि ऐनको रुपमा लागू हुन्छ ।
प्रकाशित मिति : १७ असार २०७५, आईतवार ०८:००