७ फाल्गुन २०८२, बिहीबार | Thu Feb 19 2026

पहिलो पटक चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण

१२ चैत, काठमाडाैँ । काठमाडौँ उपत्यकाबाहिर पहिलोपटक कलेजोको सफल प्रत्यारोपण सम्पन्न भएको छ । भरतपुरस्थित चितवन मेडिकल कलेजमा पहिलोपटक कलेजोको सफल प्रत्यारोपण गरिएको हाे । चितवन मेडिकल कलेजमा राजधानी कलेजले बिहीबार बिहान भरतपुरमा पत्रकार सम्मेलन गरी भरतपुर महानगरपालिका वडा नम्बर १० निवासी ५४ वर्षीय धनकुमारी लामामा कलेजोको सफल प्रत्यारोपण गरिएको जानकारी दिएको हो । लामालाई उनकी ३४ वर्षीया छोरी उषाले कलेजो दिएकी हुन् । चैत्र ८ गते झण्डै १२ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन् ।

कलेजका विषेशज्ञ चिकित्सकहरू डा सञ्जय यादव, डा एकानन्द सिंह, डा किरण अधिकारी, डा सुरेश गौतम, डा बरुण श्रेष्ठ, डा सागर पौडेल, डा नवीन यादव, डा विज्ञान पौडेल, स्टाफ नर्स अन्जु थापा, श्रुति यादव र सलिना तिवारी, सुमी कार्की, अस्मिता थापा, पुष्पा थापामगर, बायोमेडिकल इन्जिनियर प्रकाश खतिवडा, एपोलो अस्पतालका डा निरज गोयल, डा अरुणकुमार, डा सञ्जीव अनिजालगायतको टोलीले सहयोग गरेको थियो । चिकित्सकका अनुसार लामाको स्वास्थ्य जाँच गराउदा कलेजो काम नलाग्ने गरी बिग्रिएकोले प्रत्यारोपणको विकल्प थिएन । बिग्रिएको कलेजोलाई पुनर्जीवन दिन बिरामीको छोरी उषाको शरीरमा असर नपर्ने गरी आवश्यक कलेजोको मात्रा निकालेर प्रत्यारोपण गरिएको चिकित्सक बताए । अहिले आमाछोरीको स्वास्थ्य सुधारोन्मुख रहेकाे छ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार १३:०१