१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

पर्व सुधार गर्न सरकारलाई आग्रह

१४ असार, चितवन । हाल मनाइदै आएका पर्वहरु खगोल विज्ञानसँग मेल नखाने भएकाले पर्व सुधार गर्नुपर्ने बताइएको छ । ब्रह्मसदन आत्रेय गुरुकुल रत्ननगर १३ जयमङ्गला वैदिक नगर चितवनद्वारा बिहीबार आयोजित वैदिक काल गणना सिद्धान्तको औचित्य र अध्यायोपाकर्म विषयक प्रवचन गोष्ठीमा बोल्दै पण्डित कृष्ण प्रसाद दुवाडी (आत्रेय) ले खगोल विज्ञान अनुसार पात्रोहरु तयार गर्नुपर्ने बताए ।

हामीले अहिले मनाइरहेका पर्वहरु, शुभ कार्य, अशुभ कार्य ठिक समयमा मनाएका छैनौं, उनले भने । हरेक चाडपर्व तिथीहरु २५ दिनको फरक परेको छ । प्रत्येक १ वर्षमा २० मिनेटको समय फरक पर्ने भन्दै पण्डित दुवाडीले खगोल विज्ञानसँग मेल खाने गरी पर्व सुधार गर्नुपर्ने पण्डित दुवाडीले बताए ।

आजभन्दा ५ हजार ८३ वर्ष अघि कलियुग सुरु भएको उनले बताए । अहिले भन्दा १५ सय वर्ष अगाडिदेखि चाडपर्व एवम् पात्रोहरु सुधार गरिएको छैन । खगोल विज्ञान एवम् वैदिक वेदकै आधारमा पात्रो बनाए पनि समयमानलाई परिवर्तन नगर्दा चाडपर्वहरु उचित समयमा हुन नसकेको उनले बताए ।

नेपाल सरकार पर्व सुधार समितिलाई पनि पर्व सुधार गर्न अनुरोध गरेको भन्दै पण्डित दुवाडीले कुनैपनि पितृकार्य, शुभकर्म, चाडपर्व हुनुपर्ने समयमा नहुँदा कर्मबाट पाउने फल समेत नमिल्ने उनले बताए । यी विभिन्न कारणले पनि विभिन्न स्थानमा अनिष्ट घटनाहरु भएको समेत उनले बताए ।

पञ्चाङ्ग निर्णायक समितिले जतिसक्दो छिटो पर्व सुधार गर्नुपर्ने भन्दै पण्डित दुवाडीले हरेक ७२ वर्षमा केन्द्रविन्दुबाट १ दिनको समय घट्ने भएकोले सो सुधार गर्न जरुरी रहेको समेत उनले बताए । सोही आधारमा वैदिक प्रज्ञा प्रतिष्ठान रत्ननगर १३ जयमङ्गला चितवनले विगत ८ वर्षदेखि वैदिक तिथीपत्रम् (वैदिक पात्रो) समेत प्रकाशन गर्दै आएको छ ।

प्रकाशित मिति : १४ असार २०७५, बिहीबार २१:०७