४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

शान्ति स्थापनामा सशस्त्र प्रहरी बलको फर्म्ड पुलिस युनिट सर्वोकृष्ट

१७ फागुन, काठमाडाैँ । संयुक्त राष्ट्र संघको आब्हानमा शान्ति स्थापनार्थ दक्षिणी सुडानको जुवामा तैनाथ बिभिन्न देशका युनिटहरु मध्ये सशस्त्र प्रहरी बल, नेपालको फर्म्ड पुलिस युनिट (एफ.पि.यु–१) सर्वोकृष्ट ठहरिएको छ । अनमिस पुलिस कमिसनर युनेसी लुतु भुनीवाकाद्धारा एलिन पिकेरिङ्गको नेतृत्वमा गठित चार सदस्यीय कार्य सम्पादन परीक्षण तथा मुल्याङ्कन समितिले दक्षिणी सुडानमा तैनाथ ६ वटा एफ.पि.यु. हरु मध्ये राजधानी जुवामा तैनाथ नेपाल एफ.पि.यु.–१ लाई सर्वोकृष्ट युनिट घोषणा गरेको हो ।

उक्त समितिले तयार पारेको कार्य सम्पादन परीक्षण तथा मुल्याङ्कन प्रतिबेदनमा नेपाल एफ.पि.यु.ले शतप्रतिशत नतिजा प्राप्त गरी हालसम्मकै सर्वोकृष्ट हुन सफल भएको कुरा उक्त युनिटका कमाण्डिङ्ग अफिसर सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कुमार न्यौपानेले बताउनु भयो । कुनै पनि मिशनमा तैनाथ एफ.पि.यु.हरु बीच बिभिन्न बिधामा मुल्याङ्कन गरी उत्कृष्टता छनौट गर्ने कडिको रुपमा लिईने यस मुल्याङ्कनलाई एफ.पि.यु.हरुले प्राप्त गर्ने प्राप्ताङ्कका आधारमा उत्कृष्ट छनौट गरिने गरिएको छ ।

आन्तरिक प्रतिस्पर्धामा समाबेश गरिएका आठ बिधाहरु क्रमशः– मिशन कार्यादेशको ज्ञान र समर्थन, कमाण्ड एण्ड कन्ट्रोल, नागरिक सुरक्षा, अप्रेशनल रेडिनेश र क्षमता, बन्दोबस्ती क्षमता, प्रशासन, तालिम र स्वास्थ्य तथा कल्याणकारी हुन । प्रत्येक बिधामा अधिकतम चार÷चार अंकका दरले ३२ पुर्णाङ्क छुट्याईएको थियो । १८ फेब्रुअरी सन् २०२१ मा लिईएको उक्त परीक्षण तथा मुल्याङ्कनमा नेपाल एफ.पि.यु–१ ले ३२ अंक नै ल्याउन सफल भएको हो ।

सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कुमार न्यौपानेले नेतृत्व गरिरहेको उक्त डप्फामा डिपुटि कमाण्डिङ्ग अफिसर सशस्त्र प्रहरी नायब उपरीक्षक शिब प्रसाद गैहे, चिफ लजिष्टिक अफिसर सशस्त्र प्रहरी नायब उपरीक्षक रामजंग पाण्डे र चिफ अप्रेशन अफिसरको जिम्मेवारीमा सशस्त्र प्रहरी नायब उपरीक्षक अरुण कुमार शर्मा रहेका छन । उक्त एफ.पि.यु.मा ३४ जना महिला सशस्त्र प्रहरी कर्मचारीसहित १८० सशस्त्र प्रहरी अधिकृत तथा जवानहरु कार्यरत छन ।

शान्ति प्रक्रिया सातौ डप्फाको रुपमा सन २०२० को फेब्रुअरी ९ तारिखमा सुडानमा तैनाथ सशस्त्र प्रहरी बल, नेपालको उक्त टोलीले कोराना कहरको समयमा समेत बिचलित नभई आफुलाई प्राप्त जिम्मेवारीहरुलाई उत्कृष्ट रुपमा निर्बाह गरेको तथा कमाण्ड स्टाफ र सकल दर्जाका कर्मचारीहरुको अथक मेहनतका कारण पनि अन्य एफ.पि.यु.हरुलाई पछि पार्न सफल भएको कुरा कमाण्डिङ्ग अफिसर न्यौपाने बताउछन् ।

हाल दक्षिण सुडानमा रहेका एफ.पि.यु.हरुमा नेपालको तर्फबाट दुई वटा, रुवन्डाको तिन वटा र घानाको एक गरी जम्मा ६ वटा एफ.पि.यु.हरु कार्यरत रहेका छन् । शान्ति प्रक्रियामा रहेको यस राष्ट्रमा सन २०२३ डिसेम्बरमा आम निर्वाचन हुन गईरहेको छ । यसै क्रममा एफ.पि.यु.हरुको संख्यामा कटौती गरी ईन्डिभिजियल प्रहरीहरुको संख्या बृद्धि गर्ने योजनाको साथ अगाडी बढिरहेको परिप्रेक्ष्यमा यस रिपोर्टलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार १५:५४