१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

कांग्रेस नेता हरिकुमार श्रेष्ठको नेतृत्वमा रहेको वेनी नगरपालिकामा जन्म दर्ताकै शुल्क एक हजार रूपैयाँ

१३ असार, काठमाडौँ । सरकारले व्यक्तिगत घटना दर्ताको काम छुट्टै केन्द्रीय पञ्जिकरण विभाग मार्फत संयोजन गराई गरिरहेको छ । जन्म, मृत्यु, बसाईसराई तथा सम्बन्ध विच्छेदको सूचना लिएर स्थानीय तहले अभिलेख गर्ने काम गरेका छन ।

सबैले यस्तो सूचना सही र समयमै दिउन भनेर सरकारले उत्प्रेरित गरिरहेको छ अर्थात ३५ दिनभित्र जन्म दर्ता गराउँदा कुनै शुल्क नै दिनुपर्दैन । ३५ दिनभित्र पैसा नलाग्ने काटेपछि भने ५० रुपैयाँ लाग्ने व्यवस्था छ । तर यसैमा स्थानीय तहहरुले मनपरी शुल्क असुलीरहेका छन ।


जन्म दर्ताको शीर्षकमै मनपरी शुल्क असुल्नेमा प्रदेश नम्बर ४ अन्तर्गतको म्याग्दीमा रहेको वेनी नगरपालिका अग्रस्थानमा रहेको छ । जसले अंग्रेजीसहितको दर्ता प्रमाणपत्रको नाममा एक हजार रुपैयाँ असुल गरिरहेको छ । नेपाली कांग्रेसका नेता हरिकुमार श्रेष्ठले नेतृत्व गरेको नगरपालिकाले जन्मदर्ताको प्रमाणपत्रकै लागि एक हजार शुल्क असुल गरिरहेको हो ।

वेनी नगरपालिकाले चर्को शुल्क असुल गरिरहेको जानकारी पाएपछि दैनिकीले मेयर हरिकुमार श्रेष्ठसँग सम्पर्क गर्दा उनले विदेश जानेका लागि अंग्रेजीमा जन्मदर्ता प्रमाणपत्र बनाउनुपर्ने भएकाले एक हजार रुपैयाँ लिएको स्वीकार गरे । उनले ३५ दिन भित्र निःशुल्क गर्ने र त्यसपछि ५० रुपैयाँमा जन्मदर्ता गराउँदै आएको भन्दै विदेश जाने प्रयोजनका लागि बढी शुल्क लिएकाो बताए । जबकी केन्द्रीय पञ्चिकरण विभागले नै सबै स्थानीय तहलाई एउटै नमुना पठाएको छ र सोही अनुसार व्यक्तिगत घटनादर्ताको काम हुँदै आएको छ ।

जन्मदर्ता प्रमाणपत्रको नमुना । जुन देशैभरका स्थानीय तहमा एकै प्रकारको लागू हुन्छ ।

र पछिल्लो केही वर्षदेखि एउटै प्रमाणपत्रमा अंग्रेजी र नेपालीमै उल्लेख गरेर दिएको छ । तर स्थानीय तहहरुले भने विभिन्न बहानामा राजस्व संकलन गर्ने भन्दै चर्को शुल्क लिइरहेका छन । यो वेनी नगरपालिकाको विषय प्रतिनिधि घटनामात्र हो । यस्तो प्रवृति धेरै नगरपालिका र गाउँपालिकामा जारी रहेको छ ।

 

प्रकाशित मिति : १३ असार २०७५, बुधबार १२:३८