२० पुष २०८१, शनिबार | Sat Jan 4 2025

कैदीलाई प्रजातन्त्रः चालचलन सुध्रिएका ४०१ कैदी कारागारमुक्त

७ फागुन, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कैदीबन्दीको कैद सजाय माफी दिनुभएको छ । मन्त्रिपरिषद्को सिफारिशमा उहाँले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिनुभएको हो । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार र्खिहाङ लिम्बूसमेतका ४०१ कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ । लिम्बूलगायतलाई ‘फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन )ऐन’, २०७४ तथा ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३’ को दफा १२ बमोजिम कैद सजाय घटाइएको हो ।


यस्तै राष्ट्रपतिले आजसम्म कम्तीमा ५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएका सुदीप लिम्बूसमेत १७९ कैदीको भुक्तान हुन बाँकी कैद छुट दिनुभएको छ । सर्वोच्च अदालतको गत साउन १९ गतेको परमादेशसमेतको आधारमा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन), २०७४ लागू हुनुपूर्व गरेको कसूरमा जन्मकैदको सजाय तोकिएकालाई कैद छुट दिइएको हो । यसैगरी सुरेन्द्र भनिने सालिन्द्र यादवसमेतका १५ जनाको समेत विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद, जरिवाना, सर्वस्वलगायत सजाय माफी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार ०७:३७