१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

सिंगटी हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

३ फागुन, काठमाडाैँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले माघ ४ गतेबाट आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरु र क्षेत्रमा स्थायी बसाेबास गर्ने नेपाली नागरिकहरूको लागि आईपीओ निष्काशन गरेको हो ।

पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम २ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट पुस २१ गते अनुमति पाएको थियो। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेड रहेको छ।  सार्वजनिक निष्काशन गर्नका लागि गराइएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार १०:१६