३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

कोरोना बीमाको दाबी गर्नेहरुलाई भुक्तानी गर्न चुनौतीः राजस्व सचिव पुडासैनी

२२ माघ, काठमाडाैँ । अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले आगामी दिनमा बीमा पहुँच बढाउनुपर्ने बताउनुभएको छ । बिहिबार बीमा समितिका नवनियुक्त अध्यक्ष सुर्य प्रसाद सिलवाललाई सपथ ग्रहण गराउँदै सचिव पुडासैनीले बीमाको पहुँच बढाउनुपर्ने प्रमुख जिम्मेवारी रहेको बताउनुभएको हो । उहाँले बिमा क्षेत्रमा सुशासनको समस्या रहेको भन्दै राम्रो नियमको विकास गर्नुपर्ने चुनौती रहेको पनि बताउनुभयो । कोरोना बीमाको दाबी गर्नेहरुलाई भुक्तानी गर्नु तथा फन्डको व्यवस्थापन गर्ने चुनौती रहेको पनि उहाँको भनाई छ ।

सरकारको स्वामित्वमा रहेका दुई बीमा कम्पनीहरुलाई पारदर्शी बनाउनुपर्ने पनि उहाँको भनाई छ । बीमा समितिका नवनियुक्त अध्यक्ष सुर्य प्रसाद सिलवालले बिमा कम्पनीको पहुँच बिस्तारका साथै कम्पनीको विश्वसनीयता बढाउन आफु खरो उत्रिने बताउनुभयो । नीतिगत कुराहरुलाई फास्टट्रयाकमा लैजान मन्त्रालयको सहयोगको अपेक्षा रहेको उहाँको भनाई छ ।

बीमा क्षेत्रको वर्तमा समस्यालाई समाधान गर्दै नीतिगत र संरचनालाई समिक्षा गरिने उहाँको भनाई छ । कार्यक्रममा उपस्थित अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयको तर्फबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार १६:३४